काठमाडौं । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव ८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।
यस्तै सोही बैंठकले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न आगामी कात्तिक ४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ ओटा आवको साधारण सभा आयोजना गर्ने भएको हो । उक्त सभाहरु काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा लाभांश र शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित हुनेछ । यस्तै परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने, कम्पनीको १० अर्ब पुग्ने अधिकृत पूँजीलाई प्रतिशेयर रु.१०० का दरले १० करोड थान साधारण शेयरमा विभाजन गर्ने र ७ अर्ब ५६ करोड पुग्ने जारी पूँजीलाई प्रतिशेयर रु.१००का दरले ७ करोड ५६ लाख थान साधारण शेयरमा विभाजन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत) र आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।