काठमाडौं । बुधवार नेप्से परिसूचक ४ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ५७६ दशमलव ७६ विन्दुमा कायम भएको हो । आजसँगै नेप्से लगातार तीन कारोबार दिन घटेको हो ।
तीन दिनमा नेप्से १११ दशमलव ७६ अंक घटेको छ । बजार घट्दा कारोबार रकमसमेत प्रभावित भएको छ । आजको कारोबार रकम करीब साढे दुई महीना (गत असार २६ गते) यताकै न्यून हो । उक्त दिन रू. ५ अर्ब ७४ करोड बराबरको कारोबार भएको थियो । आज भने रू.५ अर्ब ६६ करोड बराबरको भएको हो ।
गत साउन ३१ गते ३ हजार दशमलव ८१ विन्दुमा रहेको बजार त्यसयता ४२४ अंक घटिसकेको छ ।
बजार धेरै घटेकाले अब 'प्यानिक सेल' कम हुँदै गएको देखिन्छ । 'प्यानिक सेल' कम हुनु, लगानीकर्ताले शेयर खरीदका लागि हतार नगर्नु लगायत कारणले कारोबार रकम सुस्त बनेको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २४ प्रतिशत वृद्धि भएको छ ।
आज ३२० धितोपत्रको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ८० हजार ३७८ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १२४ पुगेको छ । आज शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ०२ प्रतिशत बढेर रू. १ हजार ९१ पुगेको छ ।
बुधवार जनउत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव ६७ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५६५ मा झरेको छ । आज शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा गुडवील फाइनान्स छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ७७ घटेर रू. ८८१ कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिईडिबि हाइड्रोपावर कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २० करोड ५८ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९९९ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्स छ । कम्पनीको रू. १६ करोड ९८ लाख बराबरको शेयर कारोबार भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये बैंकिङ्ग समूहको सूचक शून्य दशमलव ७६ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक २ दशमलव ६८ प्रतिशत घटेको छ ।