काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारणसभा असोज २३ गते बोलाएको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबानेश्वरस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित १८ दशमलव ३८११ प्रतिशतले हुन आउने ७६ करोड ९० लाख ६५ हजार २२४ रुपैयाँ बराबरको बोनस शेयर पारित गर्ने छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन तथा लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको हाल चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । सभाले बोनस शेयर जारीपछि चुक्तापूँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रुपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आगामी असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।