कारोबार गर्ने व्यक्तिले आफूले विक्री गर्नुपर्ने वस्तुको वास्तविक मूल्यभन्दा बढी देखाउँदा त्यस्तो व्यक्तिको कारोबारबाट प्राप्त हुने मुनाफामा कमी हुन जान्छ । उदाहरणका लागि खरीदमूल्यलगायत अन्य सबै खर्चसमेत जोड्दा १ हजार रुपैयाँ परेको कुनै वस्तुको मूल्य ४ हजार देखाउँदा परल (खर्च) लागत बढी हुन गई सरकारले प्राप्त गर्ने आयकरमा कमी हुन जान्छ । करदाता कम कर तिर्न खोज्ने सरकार बढी कर लिन खोज्ने परस्परको अन्तरविरोधलाई कर कानूनले समन्वय गरेको हुन्छ । यहाँ केही सीमित खर्च कट्टीका यस्तै सवाललाई उठाइएको छ ।
करको हिसाब हरेक आर्थिक वर्षका लागि छुट्टाछुट्टै गर्नुपर्ने भएकाले अघिल्लो वर्षमा विक्री नभएका, यस वर्ष खरीद गरेका र यस वर्ष विक्री भएका सामान (वस्तु) को अभिलेख गरी यस वर्षका लागि त्यस्ता प्रत्येक वस्तुको वास्तविक परल (खर्च) लागतको हिसाब पनि अलगअलग राख्नुपर्छ । व्यापार मौज्दातको अन्तिम मूल्य निकाल्दा बजार मूल्य वा लागत मूल्य जुन घटी हुन्छ, सोही मूल्यलाई आधार मान्नुपर्छ । आफन्तलगायत व्यापारिक साझेदारसँग खरीद गरेका वस्तुको मूल्यमा बढी वा घटी देखाउन पनि सक्ने, जसले गर्दा कर नियोजन वा करमा कमी हुने भएकाले बढी वा घटी मूल्य देखाउन सक्ने अवस्थालाई कर कानूनले निस्तेज गरेको हुन्छ ।
लागत खर्च निकाल्ने विभिन्न विधि भए पनि कहिलेकाहीँ व्यापार मौज्दात यकीन गर्न नसकिने अवस्थामा पहिलो प्राप्ति पहिलो निष्कासन वा भारित औसत लागतको आधारमा व्यापार मौज्दातको मूल्यांकन गर्नुपर्छ । पहिलो प्राप्ति पहिलो निष्कासनमा पहिला प्राप्त भएको वस्तु पहिले नै निष्कासन (विक्री) हुन्छ भन्ने मानिन्छ । भदौ १ गते खरीद गरिएको २० थान कलम, असोज १ गते खरीद गरिएको ३० थान कलम र कात्तिक १ गते खरीद गरिएको ५० थान कलम खरीद भईसकेपछि मङ्सिर १ गते ५० थान र पुस १ गते ४० थान विक्री भएको रहेछ भने पहिलो प्राप्ति पहिलो निष्कासन विधिले हिसाब गर्दा र भदौ र असोजको जम्मा ५० थान र कात्तिकको ४० थान गरी जम्मा ९० थान पहिला विक्री भएको मानिन्छ । तर, सबै अवस्थामा यस्तो हिसाबले वास्तविक लागत मूल्य निकाल्न सकिन्छ भन्ने हुँदैन । त्यस्तो अवस्थामा अन्य लागतका विधिहरू पनि अपनाइन्छ ।कच्चा पदार्थलाई पूर्ण वा अर्ध प्रशोधन गरी उत्पादित वस्तु तयारी वा अर्ध तयारी वा व्यापारिक मौज्दातका रूपमा परिवर्तन गर्न आवश्यक पर्ने श्रम प्रयोग गरेबापत श्रमिकलाई भुक्तान गरिने रकमलाई प्रत्यक्ष श्रम लागत भनिन्छ ।
कुनै आयवर्षको अन्तिममा व्यवसायको व्यापार मौज्दातको लागत वा बजार मूल्यमध्ये जुन घटी हुन्छ, सोही रकम नै व्यापार मौज्दातको अन्तिम मूल्य मानिन्छ ।
प्रत्यक्ष सामग्री लागतमा खरीद गरिएको वस्तुको बिलमा उल्लिखित रकमका अतिरिक्त अन्य रकमहरू पनि जोड्नुपर्छ । खरीद गरिएको विन्दु (समय वा स्थान) मा बिलमा उल्लिखित रकममा सामान विक्री गर्ने उद्देश्य वा खपत गर्ने वा उत्पादन गर्ने प्रयोजनका लागि उक्त सामानलाई प्रयोग गर्ने स्थानसम्म ल्याउँदा लागेको सम्पूर्ण खर्चलाई प्रत्यक्ष सामग्री लागत भनिन्छ । उदाहरण बिलमा उल्लिखित सामान खरीद मूल्य १ लाख रुपैयाँ रहेछ । उक्त वस्तुको नगरपालिका कर ५ हजार रुपैयाँ, लोड अनलोड २० हजार रुपैयाँ गरी जम्मा खर्च १ लाख २५ हजार रुपैयाँ प्रत्यक्ष सामग्री लागतमा पर्दछ ।
माथि उल्लिखित प्रत्यक्ष सामग्री लागत र प्रत्यक्ष श्रम लागतबाहेकका उत्पादनसँग सम्बद्ध अन्य सम्पूर्ण खर्चलाई कारखाना शिरोभार भनिन्छ । यस्ता खर्चमा उत्पादन गर्ने सिलसिलामा प्रयोग हुने मेशिनरीको मर्मत खर्च, कारखानामा खपत हुने पानी, बिजुलीलगायत इन्धन खर्च आदि पर्छन् । उत्पादित वस्तु वा विक्रीका लागि राखिएका वस्तु तयार गर्ने सिलसिलामा मर्मत–सुधार र ह्रासकट्टीजस्ता खर्च भने अलग किसिमका खर्चका रूपमा लेखांकन गर्नुपर्छ ।
परिवर्तनशील कारखाना शिरोभार भन्नाले उत्पादित वस्तुको एकाइअनुसार खर्चको मात्रामा परिवर्तन हुने खर्चलाई बुझिन्छ । उदाहरणका लागि मदिरा वा हल्का पेय उत्पादन गर्दा प्रयोग हुने बोतलजस्ता उत्पादित वस्तुको प्याकेजिङको आधारमा वा वस्तुको एकाइको आधारमा उत्पादन हुने वस्तुको खर्चमा परिवर्तन हुने गर्छ । अर्थात् प्याकेजिङका कारणले उत्पादित वस्तुको मूल्यमा फरक पर्न सक्ने अवस्थालाई परिवर्तनशील कारखाना शिरोभार भनिन्छ ।
कुनै आयवर्षको अन्तिममा व्यवसायको व्यापार मौज्दातको लागत वा बजार मूल्यमध्ये जुन घटी हुन्छ, सोही रकम नै व्यापार मौज्दातको अन्तिम मूल्य मानिन्छ । व्यापार मौज्दातको लागत पत्ता लगाउन नगद आधारमा लेखा राख्नेको हकमा परल लागत वा खपत लागत र एक्रुयल आधारमा लेखा राख्नेको हकमा खपत लागतको विधि प्रयोग गरेर व्यापार मौज्दातको लागत निकाल्नुपर्छ । परल लागतको आधारमा गरिने मूल्यांकनमा प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागत समावेश गरी मूल्यांकन गर्नुपर्छ ।
खपत लागतका आधारमा गरिने मूल्यांकनमा प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखाको शिरोभार लागत समावेश गरिने मूल्यांकनलाई जनाउँछ । व्यापार मौज्दातको यकीन गर्न नसकिने भएमा पहिलो प्राप्ति पहिलो निष्कासन वा भारित औसत लागतका आधारमा मूल्यांकन गर्नुपर्छ । एकपटक कुनै एउटा तरीका अपनाई सकेपछि सोही तरीकालाई निरन्तरता दिनुपर्ने कानूनी व्यवस्था भने मिति २०६७/८/४ बाट खारेज भइसकेको छ ।
‘आय आर्जनसँग सम्बद्ध खर्चहरू कट्टा गर्न पाउँछ । तर, करदाताले घोषणा गरेको वा अनुसन्धानको क्रममा विक्री वा आम्दानी लुकाएको अर्थात्् आयको गणना गर्दा समावेश गर्नुपर्ने रकम समावेश नगरेमा त्यस्ता कारोबारको ऐनको दफा १५ को उपदफा (२) को खण्ड (क) अनुसार लागतको खर्च मात्र कट्टी गर्न (एलाउन्स) दिनुपर्ने हुन्छ । आय लुकाएको वस्तु वा सेवाको कर लेखांकन भइसकेको रहेछ र सोही परिणामभित्रको वस्तु वा सेवाको हकमा दोहोरो खर्च दिन मिल्दैन । यस्तो स्थितिमा आयकर ऐन, २०५८ को दफा ३५ बमोजिम कर मुक्ति विरुद्धको सिद्धान्तबमोजिम त्यस्ता प्रबन्धको पुन: चारित्रीकरण गरी आय गणना गर्नुपर्छ’ भन्ने आन्तकि राजस्व विभागबाट मिति २०६३/४/२ को परिपत्र जारी भएको छ ।
‘मौज्दात रहेको कुनै वस्तु आगलागी वा अन्य कुनै कारणले नोक्सानी भएमा त्यस्तो वस्तुको विक्री हुने अवस्था नहुँदा त्यस्तो वस्तुको बजार मूल्य वा नि:सर्ग वा विक्रीबाट प्राप्त हुने रकम वा विक्री मूल्य पनि शून्य हुने हुँदा आयकर ऐन,२०५८ को दफा १५ (२) अनुसार लागत खर्च कट्टी हुने रकम यकीन गर्ने प्रयोजनका लागि यसको बजार मूल्य पनि शून्य हुने भएकाले नोक्सानी भएको मौज्दातको अन्तिम मूल्य र अन्तिम लागत एउटै हुने हुँदा लागत मूल्यलाई नै दफा १५ (१) को प्रयोजनका लागि मौज्दात सामानको लागत खर्च वा मूल्य मान्नु पर्ने’ नवराज भण्डारी वि. राजकुमार गोल्छाको मुद्दामा सर्वोच्चबाट नजीर कायम भएको छ । उक्त मुद्दामा आफूसँग मौज्दात रहेको सामानको मूल्यांकन वा हिसाब गर्दा आफ्नो खातामा कम मूल्यांकन गर्ने र सोही सामान आगलागी हुँदा बढी खर्च दाबी गरिएको अवस्थामा हिसाब राखिएको कम मूल्यांकन रकमलाई नै खर्च दाबीको मान्यता दिइएको छ ।
यस्तै ‘डिलरदेखि होलसेलर एवम् रिटेलरसम्मको ढुवानी खर्च भएकोमा यस्तो खर्च उद्योगले नै ब्यहोर्ने भन्ने बारेमा लिखित सम्झौताको अभावमा उक्त खर्च डिलर स्वयम्ले आफ्नो कमिसनको रकमबाट ब्यहोर्नु पर्ने, डिलरहरूसँग भएको सम्झौताको आधारमा डिलरहरूले के कस्ता काममा के कति खर्च भएको छ सोको बिल भरपार्ईसहितको फेहरिस्त पेश गरेपछि मात्र सोको आधारमा खर्च भुक्तानी गर्नु पर्नेमा केवल डिलरहरूको नोटको आधारमा खर्च भएको हो भनी अनुमानको भरमा त्यस्तो अप्रमाणित खर्चको रकम भुक्तानी गरेको खर्चलाई आय आर्जनको काममा नभएको खर्च मिनाहा नहुने भई मिनाहा दिन नमिल्ने’ आ.रा.का.धरान वि.पशुपति सोप इन्डष्ट्रिज प्रा.लि.को मुद्दामा फैसला भएको छ । उक्त मुद्दामा आम्दानी तथा खर्चको हिसाब–किताब आफू खुसी राख्न नपाइने र तोकिएको मापदण्ड विपरीत बिल भरपाईबिना नोटका आधारमा राखिएको खर्चलाई मान्यता नदिइने निर्णय भएको छ ।
लेखक कर तथा वाणिज्य कानून क्षेत्रका विज्ञ अधिवक्ता हुन् ।