नेपालमा पहिलो बजेट विसं २००८ माघ २१ गते तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका पालामा अर्थमन्त्री सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख २९ हजार रहेको थियो ।
‘यसअघि मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ,’ पहिलो बजेट वक्तव्यमा लेखिएको छ, ‘अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ ।’
उनले अर्थमन्त्रीको हैसियतमा नेपालको इतिहासमा सर्वप्रथम बजेट जनताको सामुन्ने पेश गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका थिए । उक्त बजेट वक्तव्यमा त्यसअघि देशको आयव्ययको खर्च राख्ने नगरेको र उपलब्ध बजेट तथ्यांक पनि ठीकठाक नभएको बताइएको थियो ।
- संघीय सरकारले विनियोजन गर्ने बजेटको सीमा आकार राष्ट्रिय योजना आयोगले तोकेको/निर्धारण गरेबमोजिम हुन्छ ।
- नेपाललाई पहिलो वैदेशिक सहयोग प्रथमपटक अमेरिकाबाट प्राप्त भएको थियो ।
बजेट वक्तव्यका अनुसार विसं २००७ सालको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्चतर्फ २ करोड ४६ लाख ८७ हजार रुपैयाँ थियो जसमा उक्त वर्ष ४३ लाख ९४ हजार रुपैयाँ बचत थियो ।
बजेटमा महत्त्वपूर्ण स्रोतको आधार राजस्वपछि वैदेशिक सहयोग हो । नेपाललाई पहिलो वैदेशिक सहयोग प्रथमपटक अमेरिकाबाट प्राप्त भएको थियो ।
पहिलोपटक वैदेशिक आर्थिक सहयोग प्रदान गरेको अमेरिकाले १९५१ मा प्वाइन्ट फोर कार्यक्रमअन्तर्गत नेपाललाई २२ हजार अमेरिकी डलर प्रदान गरेको थियो । नेपाललाई पहिलोपल्ट प्राविधिक सहयोग गर्ने देश बेलायत हो । उसले विसं १९६८ मा फर्पिङ जलविद्युत् आयोजना निर्माण गर्न प्राविधिक सहयोग गरेको थियो ।
विश्वमा बजेटको शुरुआत हेर्ने हो भने संसदीय व्यवस्थाको शुरुआत भएको देश बेलायतका प्रथम प्रधानमन्त्री रोबर्ट बालपोलले ल्याएको पाइन्छ । उनले सन् १७३३ मा आय र व्ययको विवरण सार्वजनिक गरेका थिए । त्यो नै विश्वको पहिलो बजेट कार्यक्रम हो । त्यसपछि सन् १९४९ मा अमेरिकाले बजेट ल्याएको थियो । विश्वमा सर्वप्रथम लैंगिक मैत्री बजेटको शुरुआत गर्ने देश अस्ट्रेलिया (सन् १९८४) हो । वर्षमा दुईपटक बजेट पेश गर्ने देश फ्रान्स हो ।
संघीय सरकारले विनियोजन गर्ने बजेटको सीमा आकार राष्ट्रिय योजना आयोगले तोकेको/निर्धारण गरेबमोजिम हुन्छ । संघीय सञ्चित कोष संविधानको धारा ११६ मा व्यवस्था गरिएको छ ।
सरकारले हरेक वर्ष गर्ने खर्च धान्नका लागि आवश्यक स्रोतको अनुमान नै बजेट हो । अर्को शब्दमा भन्दा सरकारको आय र व्ययको वार्षिक अनुमान नै बजेट हो ।
कुनै आर्थिक वर्षमा सरकारको आयभन्दा व्यय धेरै भएको अवस्था नै बजेट घाटा हो । कर, अन्य राजस्व र गतवर्षको नगद मौज्दात तथा बेरुजु सरकारको आम्दानी वा राजस्व हो । विदेशी दाताले दिने अनुदान पनि आम्दानीमै हिसाब हुन्छ । सरकारले कर्मचारीको पारिश्रमिक तथा सुविधा, सामाजिक सुरक्षा, सहायतालगायत विभिन्न चालू खर्च र पूँजीगत खर्च गर्नुपर्ने हुन्छ ।
यसरी खर्च गर्दा राजस्व र अनुदानबापत जम्मा हुन आउने रकमभन्दा चालू र पूँजीगत खर्च बढी हुन्छ भने त्यसलाई बजेट घाटा भनिन्छ । यसलाई घाटा खर्च पनि भनिन्छ ।
नेपालको आव २०८१/८२ को अनुमानित बजेट घाटा ५ खर्ब ४७ अर्ब ६७ करोड (२९.४४) रहेको छ । कुनै पनि आर्थिक वर्षमा सरकारको व्यय/खर्चभन्दा आय/आम्दानी बढी भएको अवस्थालाई नाफा बजेट भन्छौं । नेपालमा विसं २०३३ सालमा मात्र नाफा बजेट आएको थियो । कुनै पनि आवमा सरकारको आयव्यय बराबर भएको अवस्थालाई सन्तुलित बजेट भनिन्छ ।
नेपालमा आर्थिक वर्षको शुरुआत
आर्थिक वर्ष (आव) २०१६/१७ साउन १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई आवका रूपमा मानिँदै आइएको छ । पहिला असार ३० मा बजेट आउने गरेकोमा राजनीतिक किचलोका कारण बजेट ढिला आउन थालेको थियो । २०७२ मा संविधान बनेपछि यस्तो शृंखलामा रोक लागेको थियो । त्यसपछिका वर्षहरूबाट जेठ १५ मा बजेट घोषणा गरिँदै आइएको छ । संविधानमै तोकिएको दिन अर्थात् गणतन्त्र दिवसका दिन सरकारले बजेट ल्याउने गरेको छ ।
बजेट/ट्याक्स होलिडे
राज्यको सरकारको ढुकुटीबाट खर्च गर्न नपाउने अवस्था/खर्च गर्न नसकिने अवस्थालाई बजेट होली डे भनिन्छ भने पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउने जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छूट दिने व्यवस्थालाई ट्याक्स होलिडे भनिँदै आइएको छ ।