अमेरिकी पर्यटन उद्योग अब बिस्तारै घट्दै गएकोमात्र होइन पूर्ण सङ्कटमा पुगेको छ । क्यानडा, मेक्सिको, बेलायत, जापान, चीन, जर्मनी, फ्रान्स, ब्राजिल र दक्षिण कोरियाबाट आउने पर्यटकहरूले अमेरिकाको भ्रमण योजना रद्द गरिरहँदा अवस्था झन् भयावह बन्दै गएको छ । एक प्रतिवेदनअनुसार अमेरिकाको २३ अर्ब अमेरिकी डलरको जीडीपी र दुई लाखभन्दा बढी रोजगारी जोखिममा छ । कारणहरू तपाईंले सोचेको भन्दा पनि धेरै गम्भीर छन् ।
ट्रम्पले लगाएको ट्यारिफ, कडा सिमाना नीति र अत्यधिक महँगो हवाई यात्रा तथा होटल खर्चहरूले संयुक्त रूपमा ‘पर्यटनको विनाशकारी आँधी’ सिर्जना गरेका छन् । यी समस्या केवल पर्यटकहरूलाई असहज बनाइरहेका छैनन् उनीहरूलाई अमेरिका भ्रमणबाट पूर्ण रूपमा विमुख गराइरहेका छन् । एक समय अमेरिकाका सबैभन्दा नजिकका र भरपर्दा पर्यटक स्रोत मानिएका क्यानडालीहरू समेत अमेरिका गइरहेका छैनन् । मेक्सिको, बेलायत र जर्मनीबाट आउने पर्यटकहरूले पनि आफ्नो ग्रीष्मकालीन योजना पुनर्विचार गरिरहेका छन् । जापान, चीन, फ्रान्स, ब्राजिल र दक्षिण कोरियाबाट त झनै पर्यटक घटेका छन् ।
यो अस्थायी गिरावट होइन । यो त संरचनागत रूपान्तरण हो । अब अमेरिकाको पर्यटन संकट गुमेको आम्दानी, रद्द भएका ट्रिपहरू र खाली होटल कोठाहरूको कथा बनिसकेको छ । विदेशी पर्यटकहरूको कमी प्रत्येक रद्द बुकिङसँगै अमेरिकी अर्थतन्त्रको जग झनै कमजोर बनाउँदै छ ।
अमेरिकी पर्यटन मिसन अवरुद्ध
अमेरिकी पर्यटन उद्योग हाल दशककै सबैभन्दा ठूलो चुनौतीको सामना गर्दैछ । अन्तरराष्ट्रिय यात्रुहरूको संख्यामा तीव्र कमी आएको छ । यसको असर अमेरिकी सेवाकेन्द्रित अर्थतन्त्रमा गहिरो प्रभाव परिरहेको छ ।
यस वर्ष अन्तरराष्ट्रिय पर्यटनमा १० प्रतिशतले कमी आएमा अमेरिकाको जीडीपीबाट २३ अर्ब डलर हराउनेछ । यससँगै लगभग २३०,००० रोजगारी जोखिममा पर्नेछ । यसबाट रेस्टुराँ, होटल, मनोरञ्जन स्थल र खुद्रा व्यापार क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । पर्यटनबाट सबैभन्दा बढी फाइदा उठाउने सेवा क्षेत्रहरू नै अहिले सबैभन्दा ठूलो मारमा परेका छन् । भोजन सेवाहरूबाट ५० हजारभन्दा बढी रोजगारी गुम्नेछ । होटल तथा आवास क्षेत्रले झन्डै ४५ हजार रोजगारी गुमाउनेछ । मनोरञ्जन स्थलहरूले २५ हजार रोजगारी गुमाउनेछन् । व्यापार (ग्यास स्टेशनसहित) क्षेत्रमा करीब १९ हजार ५ सय रोजगारी संकटमा छन् ।
यी केवल तथ्यांक होइनन्, यी मानिसहरूको जीवन, परिवार र समुदायसँग प्रत्यक्ष जोडिएका यथार्थ हुन् ।
रोजगारी गुमेसँगै पारिश्रमिक पनि गुम्दछ । विज्ञहरूका अनुसार यसै वर्ष झन्डै १३ अर्ब डलरको श्रम आम्दानी गुम्नेछ । गुमेको डलरले किराना, घर भाडा, गाडी किस्ता जस्ता खर्चमा असर पार्दछ । विदेशी पर्यटकहरूको खर्च गुम्दा अमेरिकी उपभोक्ता खर्चमा समेत गम्भीर असर पार्दछ । एक डलर विदेशी खर्च हराउँदा अमेरिकी अर्थतन्त्रबाट थप ४१.१९ डलर गुम्ने अनुमान गरिएको छ ।
सिमानाका शहरहरू संकटमा
सबैभन्दा गहिरो असर अमेरिका–क्यानाडा सिमानामा देखिएको छ । त्यहाँ पहिले क्यानडाली पर्यटकहरूको अविरल आगमन थियो, अहिले त्यहाँको बजार सुनसान छ । वाशिङ्टन स्टेटदेखि न्यूयोर्कसम्म साना शहरहरूका आर्थिक गतिविधि ठप्प छन् । भन्सार नीति र क्यानडाली जनताको असन्तुष्टिका कारण धेरै क्यानडालीहरूले अमेरिकाको यात्रा बहिष्कार गरेका छन् । उनीहरूको सन्देश स्पष्ट छ, ‘अब अति भयो ।’
अप्रिल महिनामा मात्र क्यानडाली जमिनमार्गको आगमन ३५ र हवाई मार्गबाट आगमन २० प्रतिशतले घटेको छ । यस वर्ष क्यानडाबाट अमेरिकी भ्रमणमा २० प्रतिशत कमी आउने पूर्वानुमान गरिएको छ ।
पश्चिम यूरोपबाट अमेरिकी भ्रमणमा ६ प्रतिशत कमी आउने अनुमान गरिएको छ । अमेरिकी डलर अन्य मुद्राहरूको तुलनामा बलियो हुँदा अमेरिका अझ महँगो गन्तव्य बनिरहेको छ । जापान र ब्राजिलबाट आउने पर्यटकहरूका लागि सन् २०१९ को तुलनामा उनीहरूको क्रयशक्ति ३० प्रतिशतले घटेको छ ।
अहिलेदेखि केही महीना अगाडि २०२४ डिसेम्बरमा अन्तरराष्ट्रिय पर्यटनमा ८.८ प्रतिशत वृद्धि र विदेशी खर्चमा १६ प्रतिशत वृद्धिको अनुमान गरिएको थियो । अहिले ती सबै अनुमान चकनाचुर भएका छन् ।
अब सन् २०२५ को गर्मीका लागि अमेरिकातर्फ बुकिङमा ११ प्रतिशत कमी देखिएको छ । मार्चमा पर्यटक आगमन घटे पनि अप्रिलमा इस्टर बुकिङले केही राहत दिएको थियो तर समग्रमा २ महीनाको तुलनामा १.६ प्रतिशत कमी आएको छ ।
किन घट्यो भ्रमण ?
अर्थ र राजनीति मिलेर विदेशी पर्यटकहरूलाई टाढा पारिरहेका छन् । ट्यारिफ र व्यापार युद्धले वैदेशिक सम्बन्ध बिगारेको छ । भिसा रद्द र सीमा नियन्त्रणले अमेरिका कम स्वागतयोग्य देखिएको छ । हवाई टिकट, होटल, मुद्रा रूपान्तरण सबै महँगो भएपछि पर्यटकहरूले अन्य सस्ता गन्तव्य रोजिरहेका छन् । पर्यटनको असर केवल होटल र रेस्टुराँसम्म सीमित छैन । मियामीदेखि म्यानहट्टनसम्म, लस भेगासदेखि लस एन्जेलससम्म पर्यटकीय शहरहरूले राजस्व गुमाइरहेका छन् । धेरैले तलब घटाउँदै छन्, कार्य घण्टामा कटौती गर्दै छन् । यसको असर भनेको कम खर्च, बढी ऋण, पारिवारिक आर्थिक तनाव हो ।
समाधान खोज्ने समय यही हो
यो केवल सामान्य गिरावट होइन, चेतावनी हो । त्यसैले भिसा प्रक्रिया सजिलो बनाउनु पर्छ । सीमामा मैत्रीपूर्ण व्यवहार बढाउनु पर्छ । कूटनीतिक सम्बन्ध पुनःनिर्माण गर्नु पर्छ । व्यवसायहरूले विदेशी पर्यटकलाई आकर्षित गर्ने छुट र अफर दिनु पर्छ । संकटग्रस्त क्षेत्रलाई राहत दिन सरकारले कदम चाल्नुपर्छ । विदेशी पर्यटकहरूले अमेरिकी अर्थतन्त्रको मेरुदण्ड थामेका छन् । उनीहरूको अनुपस्थितिले गहिरो असर ल्याउँछ । अहिले नै परिवर्तन नगरे समाधान झनै कठिन हुनेछ ।
(फर्च्युनबाट)