कामिनी सिंह एक वैज्ञानिक हुन् जसले आफ्नो प्रयोगशालाको कोट फुकालेर उत्तर प्रदेशको खेत रोजिन् । उनले जैविक शीतलचिनी अर्थात् मोरिंगा खेतीमार्फत १,०५० भन्दा बढी किसानलाई सशक्त बनाइन् । ९ लाख रुपैयाँको ऋणबाट शुरू भएको उनको प्रयासले १.७५ करोड रुपैयाँ बराबरको व्यवसाय जन्मायो, जसले विज्ञान र दिगोपनको सहकार्यले जनजीवन कसरी बदल्न सक्छ भन्ने प्रमाणित गर्यो ।
कामिनी सिंहको यात्रा भारतका प्रतिष्ठित अनुसन्धान संस्थाहरू सेन्ट्रल इन्स्टिच्युट फर सबट्रपिकल हर्टिकल्चर र सेन्ट्रल इन्स्टिच्युट अफ मेडिसिनल एन्ड एरोमाटिक प्लान्ट्सबाट शुरू भयो । उनी हर्टिकल्चरमा दक्ष थिइन् र जैविक खेतीमा महत्त्वपूर्ण अनुसन्धान गरिरहेकी थिइन् । तर, लामो समयको अनुसन्धानपश्चात् उनले महसुस गरिन् कि त्यो ज्ञान तिनीहरूको हातमा पुग्न सकेको छैन, जसलाई सबैभन्दा बढी चाहिएको हो- ती थिए किसान ।
- उनी हाल साबुन, हरियो चिया, कुकिज, क्याप्सुल, तेल, फेस सिरम आदि मोरिंगाका २२ प्रकारका उत्पादनहरू बनाउँछिन् ।
‘मेरो ल्याबभित्र जन्मिएका नयाँ विचारहरू र प्रयोगहरू कहिल्यै पनि खेतमा खट्ने किसानहरूको हातमा पुग्दैनथे,’ उनले भनिन् । त्यही बेला उनलाई महसूस भयो अनुसन्धानले होइन, त्यसलाई कार्यान्वयनमा ल्याएर मात्र परिवर्तन सम्भव हुन्छ । यही सोचले १७ वर्षको वैज्ञानिक करिअरलाई उनले खेतको माटोमा बदल्ने निर्णय लिइन् ।
२०१६–१७ मा कामिनी सिंहलाई उत्तर प्रदेशभर जैविक खेती प्रवर्द्धन गर्ने र किसानलाई तालिम दिने जिम्मेवारी दिइयो । ‘जैविक खेतीको शुरूका २–३ वर्षमा राम्रो उत्पादन लिन गाह्रो हुन्छ, किनभने माटोलाई रासायनिक मलबाट प्राकृतिक मलमा रूपान्तरण गर्न समय लाग्छ,’ उनले बताइन् ।
धेरै किसानले सरकारको अनुदानको लोभमा कार्यक्रममा नाम त लेखाए, तर व्यवहारमा जैविक खेतीको अभ्यास नगरेका कारण उनीहरूको उत्पादन र आम्दानी कमजोर रह्यो ।
त्यसपछि उनले त्यस्तो बाली खोजिन्, जुन कम लागतमा बढी उत्पादन दिन सकोस् । उनलाई शीतलचिनी (मोरिंगा वा सजिवन) उपयुक्त लाग्यो । यो पोषक तत्त्वले भरिपूर्ण बालीले कम सिँचाइमा राम्रो उत्पादन दिन्थ्यो ।
२०१७ मा उनले लखनऊमा ७ एकड जमिन भाडामा लिएर मोरिंगा खेती गर्न शुरू गरिन् । नतिजा आशातीत रह्यो । ‘मोरिंगा सिँचाइको कम आवश्यकता पर्ने बाली हो र यहाँको हावापानीमा सजिलै अनुकूल हुन्छ,’ उनले भनिन् । कामिनीले किसानहरूलाई सल्लाह दिइन्, ‘मुख्य बाली बिग्रने डरबिना, खेतको छेउमा शीतलचिनी रोप । केही बिरुवाबाटै शुरू गर ।’ यस उपायले किसानले हरेक वर्ष ३० हजार रुपैयाँ जति बचत गर्न थाले । यसले अरू किसानहरूमा पनि चासो जगायो ।
शालिकराम यादव लखनउको बक्शीका तलाउ क्षेत्रका किसान हुन् । ‘मैले म्याडमलाई शहरको एक स्टलमा भेटें । उनले मलाई मोरिंगाको बिरुवा खेतको छेउमा लगाउन सल्लाह दिइन् । शुरूमा ४ सय बिरुवा लगाएँ, अहिले १० एकडमा फैलाइसकेको छु,’ उनले भने । ‘शुरूमा डर लागेको थियो, तर म्याडमले मलाई हौसला दिइन् । अहिले मोरिंगाको पात बेचेर राम्रै कमाइ भइरहेको छ । १ किलोको ६० रुपैयाँ आउँछ । यो सिजन मौसम खराब भए पनि घाटा भएन ।’
खेतबाट कारखानातर्फ
कामिनीको मोरिंगा खेती सफल भएपछि उनले किसानहरूलाई यो बाली पारम्परिक बालीसँगै लगाउन सल्लाह दिइन् । यसले किसानहरूको आम्दानी बढ्दै गयो । एकपछि अर्को गर्दै किसानहरू उनको अभियानमा जोडिँदै गए । आज १५ गाउँका १,०५० किसान उनीसँग आबद्ध छन् ।
तर, उत्पादन मात्र पर्याप्त थिएन । मोरिंगाजस्ता बाली बजारमा सीधै बेच्न कठिन हुन्छ । ‘थोरै मात्रामा उत्पादन हुँदा हामीले त्यसको मूल्यवृद्धि गर्न शुरू गर्यौं । त्यसको पाउडर बनाउन थाल्यौं,’ उनले भनिन् । त्यो सानो प्रयोगले अहिले ठूला उद्योगको रूप लिएको छ । उनी हाल साबुन, हरियो चिया, कुकिज, क्याप्सुल, तेल, फेस सिरम आदि मोरिंगाका २२ प्रकारका उत्पादनहरू बनाउँछिन् ।
२०१९ मा उनले आफ्नो व्यवसायलाई डक्टर मोरिंगा प्रालिको रूपमा दर्ता गरिन् । त्यसको साथमा किसान उत्पादक संगठन पनि गठन गरिन्, जसले किसानले सीधै बजारमा सामान बेच्न सक्ने व्यवस्था मिलायो ।
‘यसमार्फत किसानहरूले आफ्नो उत्पादन सिधा विक्री गर्न पाए, बिचौलियाको झन्झट हट्यो,’ उनले भनिन् । आज उनीहरूको कम्पनीको टर्नओभर १.७५ करोड रुपैयाँ पुगेको छ, स्थायी रूपमा ३० प्रतिशत नाफा भइरहेको छ । यो सबै उनले ९ लाखको व्यक्तिगत ऋणबाट शुरू गरेकी थिइन् ।
कामिनी आफ्नो वैज्ञानिक ज्ञान प्रयोग गरेर बीउको अंकुरण दर, किराफट्यांग्रा नियन्त्रण, गुणस्तर परीक्षण आदि स्वयम् गर्छिन् ।
किसानहरूलाई हातमा तालिम दिने, सृजनात्मक प्रशिक्षण दिने, उनीहरूको आत्मविश्वास बढाउने काममा उनी अग्रसर छिन् ।
मालिहाबादका एक किसान अनिलकुमार सिंह भन्छन्, ‘पहिले गहुँ वा धानबाट ४० हजार आउँथ्यो, अहिले मोरिंगाले १.५ लाखसम्म आउँछ । पहिलो वर्षमै ३० हजार लगानी फिर्ता भयो । अहिले गाउँका अरू किसानले पनि मोरिंगा लगाउन थालेका छन् ।’
‘मोरिंगा खेती र मूल्यवृद्धिले १ एकडबाटै १ लाख कमाइ हुन सक्छ, जबकि परम्परागत बालीले २५ हजारमात्र दिन्थ्यो,’ कामिनीले भनिन् ।
शीतलचिनी खेती गौरेया, पटोना आदि १५ गाउँहरूमा फैलिइसकेको छ । यसले नाफामात्र होइन, दिगो र समाजमैत्री कृषि प्रणाली जन्माइरहेको छ ।
तर, शुरूमा परिवारले उनलाई यो निर्णयमा साथ दिएका थिएनन् । ‘मैले २०१५ मा स्थायी सरकारी जागीर छाडेर पीएचडी गर्न थालें । घरमा सबैले मेरो निर्णयको विरोध गरे । तर, मैले अडान लिएँ,’ उनी सम्झिन्छिन् । अहिले उनी वैज्ञानिकमात्र होइनन् एक रोजगारदाता, एक परिवर्तनकर्मी र हजारौंको प्रेरणा बनेकी छन् ।
‘मेरो यात्राको सार हो अनुसन्धानलाई खेतसम्म पुर्याउने । विज्ञानलाई जनजीवनसँग जोड्न सकेमात्र त्यो सार्थक हुन्छ,’ उनी मुस्कुराउँदै भन्छिन् ।
(द बेटर इन्डिया डट कमबाट)