काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि १० जनाको आवेदन परेको छ । माघ २५ गतेदेखि रिक्त रहेको नेप्सेको सिइओका लागि नेप्सेका पूर्वसिइओ कृष्णबहादुर कार्कीको समेतको आवेदन परेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार कार्कीसँगै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का पूर्वसिइओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् । आचार्यले सबैभन्दा पहिला आवेदन दिएको अर्थ मन्त्रालयका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । फागुन १२ देखि २५ गतेसम्म आवेदन खुला भएकोमा नेप्से र सिडिएससीका पूर्वसिइओसँगै बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईं, विमलकुमार तिवारी, हेमन्त बस्याल र मुकुन्दराज जोशी छन् ।
नेप्सेको सिइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीनसदस्यीय समिति गठन गरिएको छ । समितिमा अर्का सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल सदस्य छन् । समितिको सिफारिशको आधारमा मन्त्रिपरिषद् बैठकले सिइओ नियुक्त गर्नेछ ।
नेप्सेको सिइओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनुपर्ने व्यवस्था छ । ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको, पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिले उक्त पदका लागि आवेदन गर्न पाउने व्यवस्था छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्िवक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्ति नेप्सेको सीइओ हुन पाउँदैनन् ।
नेप्सेका सिइओ कार्की माघ २५ गतेदेखि बिदा भएसँगै नेप्सेको निमित्त प्रमुखको जिम्मेवारी हाल नेप्सेका प्रबन्धक निरञ्जन फुयालले सम्हालिरहेका छन् । ४६ खर्ब रुपैयाँभन्दा बढी पूँजीकरण रहेको धितोपत्र दोस्रो बजारको नेतृत्व गर्ने व्यक्ति धितोपत्र बजारको समग्र अवस्था बुझेर आवश्यक नीति अवलम्बन गर्न सक्ने हुनुपर्ने नेप्सेका कर्मचारी बताउँछन् ।
नेप्सेको सिईओका लागि यसका पूर्व सिइओको आवेदन पर्नुलाई पहिलो कार्यकालमा गर्न बाँकी काम पूरा गर्ने चाहनाको रूपमा समेत बुझ्न सकिने एक उच्च अधिकारीले बताए । नेप्सेले अहिले साना तथा मझौला संगठित संस्था (एसएमई)हरूको छुट्टै कारोबार प्रणाली (एसएमई प्लेटफर्म) सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । यसका लागि नेप्सेले विनियमावली बनाउने तयारी थालेको छ ।
नेप्सेले धितोपत्र बजार विकास र विस्तारका लागि विभिन्न योजना अघि सारे पनि कतिपय महत्त्वपूर्ण योजना भने अघि बढाउन सकेको छैन । नेप्सेले धितोपत्र कारोबारमा ‘नेप्से ३०’ इन्डेक्स सञ्चालनको घोषणा गरे कार्यान्वयनमा आउन सकेको छैन । दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्सका लागि सरकारले नै तयारी गरिरहँदा नेप्से बलियो बनेर अघि बढ्नुपर्ने चुनौती छ । प्राथमिकतामा रहेको नेप्सेको निजीकरण/पुन:संरचनाको विषय पनि अब आउने सिइओले अघि बढाउनुपर्नेछ । नेप्से आफ्नै र समग्र पूँजीबजारको विकासका लागि सरकारलाई समेत दबाब दिएर काम गर्न सक्ने व्यक्तिको आवश्यकताजानकारहरूले औंल्याएका छन् ।
सिईओ पदका आवेदकहरू
१. पूर्ण प्रसाद आचार्य, इलाम
२. बद्रीप्रसाद प्याकुरेल, नुवाकोट
३. नारदकुमार लुइटेल, सर्लाही
४. युवराज दाहाल, झापा
५. प्रवीण अधिकारी, काभ्रेपलाञ्चोक
६. चूडामणि चापागाईं, झापा
७. विमलकुमार तिवारी, सिराहा
८. कृष्णबहादुर कार्की, पाल्पा
९. हेमन्त बस्याल, पाल्पा
१०. मुकुन्दराज जोशी, डँडेलधुरा