साउन २९, काठमाडौं । गत आर्थिक वर्षमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १३ करोड ४५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको तुलनामा गत आवमा कम्पनीको खुद नाफा ३२ दशमलव ७४ प्रतिशत कम भएको हो । अघिल्लो आवमा कम्पनीले रू. २० करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
गत आवमा कम्पनीको खर्च बढ्दा नाफामा असर परेको हो । जम्मा आम्दानी अघिल्लो वर्षभन्दा करिब २० प्रतिशत बढी अर्थात् रू. ३६ करोड ३८ लाख भएको कम्पनीको जम्मा खर्च भने अघिल्लो वर्षभन्दा १२१ दशमलव ४९ प्रतिशत बढी अर्थात् रू. २२ करोड ९३ लाखभन्दा बढी भएको हो ।
कम्पनीको हाल चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार छ । बीमा समितिको निर्देशनबमोजिम पूँजी वृद्धिका लागि कम्पनी ज्योति लाइफ इन्स्योरेन्ससँगै मर्जरमा जाने प्रक्रियामा रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ६६ करोड ५६ लाखभन्दा बढी र जीवन बीमा कोष रकम रू. रू. १४ अर्ब ९४ लाख छ ।
गत आवमा अघिल्लो आवभन्दा १९ दशमलव ३८ प्रतिशत बढी अर्थात् रू. ५ अर्ब ५ करोड ३९ लाख कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आवभन्दा ३८ दशमलव १८ प्रतिशत बढी अर्थात् रू. १ अर्ब २३ करोड ९५ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव ३७ छ ।