काठमाडौं । लगातार ६ कारोबार दिन बढेपछि साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से शून्य दशमलव ६८ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६३५ दशमलव ०९ विन्दुमा कायम भएको हो ।
लगातार बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार घटेको जानकार बताउँछन् । दोस्रो त्रैमासको दबाबका कारण बजारमा विक्रेता हाबी भएपछि बजार घटेको उनीहरूको भनाइ छ ।
आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब ४० करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब ३० करोड बराबरको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६५ प्रतिशत, सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव ६५ प्रतिशत घटेको छ ।
आज ३०८ धितोपत्रको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर ७३ हजार ३०९ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर पब्लिक र हिमालयन पावर पार्टनरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । बाराही हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू. ८४७ र हिमालयन पावरको रू. ४५४ दशमलव ३० पुगेको छ ।
बिहीवार सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव २३ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १५० कायम भएको छ । त्यस्तै दोस्रोमा माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८ दशमलव ४६ प्रतिशत घटेर रू. ५५१ दशमलव १० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सुपर मादी हाइड्रोपावरले अोगटेको छ । यस कम्पनीको रू. ४४ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४९२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिनर्जी पावर डेभलपमेन्ट छ । कम्पनीको रू. २८ करोड ३२ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । बाँकी समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ९३ प्रतिशत घटेको छ भने विकास बैंक समूहको सूचक २ दशमलव ०४ प्रतिशत घटेको छ ।