काठमाडौं । गतवर्ष साउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट मोटरसाइकलको ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६० किलो सुन बरामद भए पनि सोही गिरोहले झन्डै ३२ अर्ब रूपैयाँ बराबरको सुन तस्करी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
गतवर्ष साउन २ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन जफत गरेको थियो । शुरूमा विभागले अनुसन्धान गरे पनि पछि अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिइएको थियो ।
यो मुद्दामा २०८० भदौ ३१ गते काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले चिनियाँ नागरिकसहित २९ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालिसकेको छ । पूर्वसभामुख कृष्णबहादुर महरासहितका नेताहरूसँग सम्बन्ध बनाएका चिनियाँ तस्करहरूको समूहले यो तस्करी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । यो तस्करीका ‘मास्टरमाइन्ड’ मानिएका चिनियाँ नागरिक दाओजिन वाङको नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष समेत रहेका महरासँग धेरैपटक टेलिफोन सम्पर्क भएको प्रहरीले गतवर्ष नै पत्ता लगाएको थियो ।
प्रहरीले महरासँग बयान लिए पनि प्रतिवादी बनाएन । प्रहरीले महराका छोरा राहुल र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग पनि यसबारे सोधपुछ गरेको थियो । गतवर्ष नै २९ जनाविरुद्ध अदालतमा मुद्दा हाले पनि प्रहरीले यो प्रकरणमा थप अनुसन्धान जारी राखेको थियो । र थप अनुसन्धानबाट थप सुन तस्करी भएको पत्ता लागेको हो ।
अहिलेसम्मको अनुसन्धानका क्रममा विभिन्न पाँचओटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ मूल्य बराबरको सुन तस्करी भएको देखिएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सोमवार पत्रकार सम्मेलनमा जानकारी गराए । ‘विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर सुन तस्करी गरिएको थियो,’ उनले भने ।
ज्ञवालीका अनुसार तस्करहरूले विद्युतीय मालवस्तुमा लुकाइछिपाई २ हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सुमा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेर ल्याएको अनुसन्धानले देखाएको छ । अनुसन्धानकै क्रममा थप २० जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यो समूहले गरेको तस्करी झन्डै औपचारिक माध्यमबाट हुने वार्षिक सुन आयात हाराहारी देखिएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा ३९ अर्ब ९३ करोड रुपैयाँको सुन औपचारिक माध्यमबाट आयात भएको राष्ट्र बैंकले बताएको छ ।
चालू आवको ११ महीनासम्ममा २३ अर्ब ६५ करोड रुपैयाँको सुन आयात भएको भन्सार विभागले बताएको छ । यो ११ महीनामा २ हजार ६५२ टन सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसबाट सुन तस्करीमा ठूलो मात्रामा विदेशी मुद्रा खर्च भएको स्पष्ट हुन्छ ।
प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत १ हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत १७० किलोग्राम ८ ग्राम र रेडी ट्रेड प्रालिमार्फत ७ किलोग्राम ७ ग्राम अवैध सुन नेपाल भित्रिएको थियो । ब्रेक सुमार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको अनुसन्धानले देखाएको छ ।
गतवर्ष रेडी ट्रेड प्रालिको नाममा आएको सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । अवैध रूपमा भित्रिएको सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईओटा पेमेन्ट गेटवेसमेत संलग्न गरेको देखिन्छ । पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको छ । सीआईबीले उक्त प्रकरणमा पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जनालाई पक्राउ समेत गरिसकिएको सोमवार सीआईबीले पत्रकार सम्मेलनमा जानकारी दियो ।
पहिलो चरणको अनुसन्धानले ब्रेक सुमा लुकाएर ३६२ किलोग्राम ७७८ ग्राम सुन ल्याएको देखाएको थियो । यसमा संलग्न २९ जनाविरुद्ध सीआईबीले २०८० भदौ ३१ गते अभियोगपत्र दायर गरिसकेको छ । उनीहरूबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो ।
सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना पुर्पक्ष थुनामा छन् । दोस्रो चरणको अनुसन्धानबाट सीआईबीले ४६ जनालाई प्रतिवादी बनाएको छ । तीमध्ये २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् ।
कोको पक्राउ परे ?
पक्राउ पर्नेमा सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बज बलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, राजु खत्री भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् ।
सीआईबीले तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएपछि पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरजशमशेर जबरालाई पक्राउ गरेको छ ।
अवैध भुक्तानीमा संलग्न रहेको भेटिएपछि पेमेन्ट गेटवे सजिलो पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा, अथुप्छाङ खम्पा, सुशीला जाकिबन्जा तथा एजेन्टहरू लालबहादुर कुँवर र अरूणकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करीका नाइके दाओजिन वाङको समूहले खडा गरेका सातओटा कम्पनीमध्ये पाँच ओटामार्फत अवैध रूपमा सुन तस्करी भएको खुलेको छ ।
वाङको प्रमुख योजनामा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालि, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रालि, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि र रेडी ट्रेड प्रालिजस्ता डमी कम्पनी खोलिएका थिए । प्रहरीका अनुसार दुईओटा स्थानमा सुन पगाल्ने काम हुन्थ्यो । टोखामा सुन गाल्न एलेक्स भन्ने याओ पुचेङको समूहले कारखाना सञ्चालन गर्दै आएको पहिलो चरणको अनुसन्धानमा खुलेको थियो ।
त्यस्तै लाजिम्पाटमा स्याम भन्ने झोङ जिङचुआनलगायत समूहबारे सीआईबीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनीहरूले न्यूरोडको संकटा मन्दिर र पाटनको टंगाललगायतमा टन्च हाउस तथा रिफाइनरी सञ्चालन गरेको खुलेको छ ।
स्याम भन्ने व्यक्ति फरार थियो । सुन कहाँ जान्थ्यो भन्ने पनि ग्याप रहेको र यो अनुसन्धानबाट ती कुरा खुलाएको सीआईबीको भनाइ छ । सीआईबीका अनुसार सुन पाटन, न्युरोडको टन्च हाउस र रिफाइनरीबाट सप्लाई हुन्थ्यो ।’
ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो सुनको तस्वीर प्रहरीले प्रतिवादी सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडको मोबाइलमा फेला पारेको छ । उनको फोनबाट फरेन्सिक ल्याबले ती तस्वीर निकालेको सीआईबीका अधिकारीहरूको भनाइ छ । त्यस्तै त्यही सुनबारे स्याम र एलेक्सबीच कुराकानीको तस्वीर पनि प्रहरीले प्राप्त गरेको छ ।
पहिलो चरणको अनुसन्धानकै क्रममा तारीखमा रहेका गुम्बु भन्ने गाम्बा शेर्पा नेपालीको मोबाइलबाट प्रहरीले एउटा सुनको तस्वीर फेला परेको थियो । त्यो पनि फरेन्सिक ल्याबले नै निकालेको हो । पछि गाम्बाले आत्महत्या गरेका थिए । गाम्बाको फोनमा भेटिएको सुनको तस्वीर सिद्धार्थको फोनमा पनि भेटिएको प्रहरीले बताएको छ ।
सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाविरुद्ध संगठित अपराध, सुनको चोरीपैठारी र केहीलाई बैंकिङ कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको छ ।
अवैध भुक्तानीमा विद्युतीय वालेट प्रयोग
नगदको प्रयोग घटाउन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्दै आएको विद्युतीय वालेट अवैध कारोबारमा समेत प्रयोग हुन थालेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको सुन तस्करीको अनुसन्धानबाट अवैध भुक्तानीमा विद्युतीय वालेट प्रयोग हुन थालेको तथ्य पत्ता लागेको हो ।
सीआईबीले सोमवार पत्रकार सम्मेलन गरी पेवेल र सजिलो पे वालेटले १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको सार्वजनिक गरेको छ । २०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पेवेलका वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रुपैयाँ बराबरको इ–मनी क्रेडिट भएको छ । तर, त्यसका लागि बैंक ट्रान्सफर नभई ६१ अर्ब ५० करोड रुपैयाँको भौचर डिपोजिटबाट भएको छ । यस्तै २०७८ जेठ २ गतेदेखि २०८१ जेठ २१ गतेसम्म सजिलो पेको वालेटमा ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँ बराबरको इ–मनी लोड भएकोमा १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरी ‘क्यास इन’ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धान शुरू गरेपछि जेठ २१ गते राष्ट्र बैंकले दुवै वालेट कम्पनीको खाता रोक्का गरेको थियो ।
नेपाल राष्ट्र बैंकले हाल वालेटमार्फत दैनिक २ लाख र प्रतिमहीना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने गरी सीमा तोकेको छ । त्यसअनुसार बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा प्रतिदिन २ लाख र प्रतिमहीना १० लाख रुपैयाँको कारोबार गर्न सकिन्छ । एक वालेटबाट अर्को वालेटमा भने प्रतिदिन ५० हजार र मासिक ५ लाखको सीमा तोकिएको छ ।
यस्तै वालेट कम्पनीले विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी विप्रेषण भित्त्याउन सक्ने र यसका लागि तोकिएको सीमा लागू नहुने प्रावधान छ । पेवेल र सजिलो पेले अस्ट्रेलियाबाट नेपालमा विप्रेषण पठाउन सेन्ड मनी नेपाल र नमस्ते विप्रेषण प्रयोग भएको उल्लेख गरे पनि दुवै कम्पनीले राष्ट्र बैंकबाट विप्रेषण कारोबारको स्वीकृति नलिएको र रकम हुन्डीबाट आएको तथा भुक्तानीका लागि वालेट प्रयोग भएको प्रहरीले बताएको छ ।
दुवै वालेट कम्पनीले राष्ट्र बैंकको स्वीकृतिविना एजेन्टमार्फत नगद कारोबार गरेको, पेवेल नेपाल प्रालिमा डिपोजिट गरेको बैंक भौचर नै भुक्तानी उपकरणका रूपमा प्रयोग गरेको र वालेट कम्पनीले बैंकमा रहेका सेटलमेन्ट खातामा भएको भन्दा अधिक इ–मनी जारी गरेको पाइएको छ । यस्तै राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा दैनिक र मासिक रूपमा पेश गर्नुपर्ने विवरण गलत पेश गरेको सीआईबीका अनुसन्धान अधिकृत सुन्दर तिवारीले जानकारी दिए ।