काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ । वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुन:सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातीदेखि सो सडक अबरुद्ध भएको थियो ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन् । अविरल वर्षाकै कारण पहिरो खस्दा अवरुद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए । त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । अविरल वर्षाकै कारण अवरुद्ध रहेको भिमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–४ रातोमाटेस्थित सडकमा पनि पहिलो हटाउने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ८ महादेओटार, प्रतापडाडा, बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए । पृथ्वीराजमार्ग खुल्यो यसैबीच पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरा खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडकखण्डमा यातायात सेवा पुन:सञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो ।
पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । मुग्लिन पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ । वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रुपमा खुला रहेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण अवरुद्ध बिपी र अरनिका राजमार्ग एकतर्फी सञ्चालन
बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन् । काभ्रेपलाञ्चोक भएर सञ्चालित बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजय मावि अगाडि, वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ ।
रोशी–७ ल्हासकोटस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो । स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा जेसिबी र स्काभेटरको सहयोगमा सडक खुलाएर अहिले एकतर्फी सवारी सञ्चालन भइरहेका प्रनाउ श्रेष्ठले जानकारी दिए । आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका–८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो । सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेका उनले बताए । उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रुपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग खुल्यो
यसैबीच पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरा खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडकखण्डमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो । पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । मुग्लिन पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ । वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रुपमा खुला रहेको प्रहरीले जनाएको छ ।
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध : झरीले पहिरो पन्छाउन समस्या
अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताए । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् ।
पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन ।