काठमाडौं । हाल नेप्सेमा ५९ जलविद्युत कम्पनीको शेयर कारोबार हुँदै आएको छ । तीमध्ये ७
जलविद्युत् कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
रिडी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपोर ,माउण्टेन इनर्जी नेपाल लिमिटेड, युनाइटेड इदीमर्दी आरबि हाइड्रोपावर, अरुण काबेली पावर, रू रू जलविद्युत परियोजना र सानिमा माई हाइड्रोपावरले लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । यी सात कम्पनीमध्ये तीन कम्पनीले साधारण सभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेका छन् ।
सानिमा माई हाइड्रोपावर, अरुण काबेली पावर र रू रू जलविद्युत् परियोजनाले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् । सानिमा माई हाइड्रोपावरले कात्तिक २ गते सम्पन्न वार्षिक साधारण सभाबाट ५ दशमलव २६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यसैगरी अरुण काबेली पावरले कात्तिक ३० गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै रू रू जलविद्युत् परियोजनाको कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
त्यस्तै युनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मङ्सिर २८ गते साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन-१७ पोखरा कास्कीमा बिहान ११ बजे गर्ने जानकारी दिइएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर १६ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा मंसिर १५ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
माउण्टेन ईनर्जी नेपालले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनीमा बिहान १० बजे शुरू हुनेछ ।
त्यस्तै रिडी पावर कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट ४० प्रतिशत बोनस शेयर र २ दशमलव १० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आवको मुनाफबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ०२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यी दुई कम्पनीले भने साधारण सभाका मिति तय गरेको छैन । यसरी हेर्दा रिडी ,माउण्टेन ईनर्जी नेपाल , नेपाल हाइड्रो डेभलोपर र युनाइटेड इदी मर्दीको शेयर अझै किन्दा पनि लाभांश पाइन्छ ।