काठमाडौं । प्रतिनिधिसभाका लागि १ सय ६५ क्षेत्रमा भएको प्रत्यक्षतर्फको निर्वाचनमा नेकपा एमालेले ८० सीट जित्दै संसद्को ठूलो दल बन्न सफल भएको छ । एमालेसँगै वाम गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र ३६ सीट जित्दै दोस्रो दल बनेको छ । नेपाली काङ्ग्रेसले २३ सीटमा जित हात पारेको छ ।
बुधवार बिहान सुनसरी ३ मा मतगणना सकिएसँगै प्रत्यक्षतर्फको सबै मतपरिणाम सार्वजनिक भएको हो । प्राप्त मतपरिणामअनुसार राजपा ११ र सङ्घीय समाजवादी फोरम १० सीटमा विजयी भएका छन् । राप्रपा, नयाँ शक्ति, नेमकिपा, राजमो र स्वतन्त्र उम्मेदवार १÷ १ स्थानमा विजयी भएका छन् । प्रत्यक्षतर्फ ५ जना महिला सांसद निर्वाचित भएका छन् । यस्तै, ७ प्रदेशका ३ सय ३० क्षेत्र रहेको प्रदेशसभातर्फ एमालेका १ सय ६८, माओवादीका ७३, नेपाली काङ्ग्रेसका ४१, सङ्घीय समाजवादी फोरम, नेपालका २४, राजपाका १६, नयाँ शक्तिका २, राजमोका २, नेमकिपाका १ र स्वतन्त्र ३ उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभातर्फ १७ महिला उम्मेदवार प्रत्यक्षमा विजयी भएका छन् ।
समानुपातिकमा पनि एमाले अगाडि
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएका स्थानमा समानुपातिकतर्फको मतगणना जारी रहेको छ । प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार बुधवार राति ८ बजेसम्ममा मुख्य तीन दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको २३ लाख ६७ हजार ३८, काङ्ग्रेसको २२ लाख ८० हजार २ सय ९ र माओवादीको ९ लाख २९ हजार ८ सय ९० मत आएको छ । प्रदेशसभाको समानुपातिकतर्फ एमालेको ५ लाख ३४ हजार ४ सय ९२, काङ्ग्रेसको ४ लाख ४५ हजार ८ सय ८३ र माओवादी केन्द्रको १ लाख ७१ हजार १ सय २३ मत पाएको छ ।
सङ्घीय संसद्को बैठकको तयारी
निर्वाचनको मतपरिणाम आएसँगै व्यवस्थापिका–संसद् सचिवालयले सङ्घीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । संविधानको धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ ।
राष्ट्रपतिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने कानूनी व्यवस्था छ । सचिवालयले हालको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यस्तै, सङ्घीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्नेस्थलको अध्ययन सूक्ष्म रूपमा भइरहेको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.