काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा ६० अर्ब रुपैयाँ नाघेको छ । सुनचाँदीको मूल्य वृद्धिसँगै बैंकहरूले दिने कर्जा पनि बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को साउनसम्ममा बैंक, वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा ६० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको साउनसम्ममा ५३ अर्ब ३१ करोड कर्जा प्रवाह भएकोमा ३ प्रतिशतले वृद्धि भएको हो ।
नेपाली बजारमा बिहीवार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ९०० रुपैयाँ कायम छ । एक वर्षअघि सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ हाराहारी थियो । सुनको भाउ बढेसँगै बैंकहरूले सुन धितोमा दिने कर्जा पनि बढेको छ ।
नेपाली समाजमा सुन तथा चाँदीलाई मुख्य गरी गहनाका रूपमा प्रयोग गर्ने भए पनि यसलाई अप्ठ्यारो पर्दा तुरुन्त नगदमा परिणत गर्न सकिने भएकाले बचतका रूपमा समेत लिइन्छ । सर्वसाधारणले पैसा बचत हुँदा सुन किन्ने र अप्ठ्यारो पर्दा त्यही धितो राखेर ऋण लिने चलन छ । सुनलाई नगदसरह मानिने र लगानी सुरक्षित हुने भएकाले बैंकहरूले प्राथमिकता दिएर यसमा लगानी गर्दै आएका छन् । शुरूशुरूमा सुन किनेको पसलबाट धितो राखेर कर्जा लिने सर्वसाधारण विस्तारै बैंक, वित्तीय संस्थामा आकर्षित हुन थालेका हुन् ।
बैंकहरूले उपभोग्य शीर्षकअन्तर्गत छोटो समयका लागि सुन धितो लिएर कर्जा दिने गरेका छन् । सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले आफूलाई अप्ठ्यारो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् ।
ऋण लिने प्रक्रिया सरल र छिटो हुनुका साथै ब्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय छ । घरजग्गालगायत अन्य सम्पत्ति धितोमा ऋण लिन मूल्यांकनदेखि अन्य लामो प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सुनचाँदी धितोमा कर्जा छिटो पाइने व्यवस्था छ । बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५०–७० प्रतिशतसम्म कर्जा दिने गरेका छन् ।