काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ४ महीनामा वाणिज्य बैंकहरूको शेयर धितो कर्जा ३५ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले उक्त अवधिमा शेयर धितोमा ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गतवर्ष सोही अवधिमा ६३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी शेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाएको सीमा खुकुलो बनाएपछि यस्तो कर्जा बढेको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लगाइएको अधिकतम २० करोड रुपैयाँसम्म मात्र शेयर धितो कर्जा लिन पाउने सीमा हटाएको थियो । बैंकहरूको कर्जा अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै राष्ट्र बैंकले ३ वर्षअघि शेयर धितो कर्जामा सीमा तोक्न थालेको थियो ।
शुरूमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको राष्ट्र बैंकले त्यसलाई बढाएर गतवर्ष व्यक्तिगत लगानीकर्ताको लागि १२ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोड रुपैयाँको सीमा तोकेको थियो । चालू आवको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताका लागि सीमा लागू नहुने व्यवस्था गरेको छ ।
शेयर धितो कर्जाको प्रावधान खुकुलो बनेसँगै लगानीकर्ताले बैंकहरूबाट यस्तो कर्जा थप लिएका छन् । ‘मेलै पनि विगत वर्षको तुलनामा यस वर्ष १२५ प्रतिशत बढी कर्जा लिएको छु । अझै पनि बजारको अवस्था हेरेर बढाउने योजनामा छु,’ लगानीकर्ता एसपी चौलागाईंले भने ।
उनका अनुसार अघिल्लो वर्षका तुलनामा पछिल्लो समय ब्याजदर निरन्तर तल्लो बिन्दुमा आएको छ । यसले गर्दा ठूला लगानीकर्ताले शेयर धितो कर्जा लिँदै शेयर खरीद गरिरहेका छन् । अर्का लगानीकर्ता पूजा भट्टराईले पनि चालू आर्थिक वर्षमा शतप्रतिशत बढी शेयर धितो कर्जा आफूले लिएको बताइन् ।
‘पछिल्लो समय माहोल सकारात्मक छ । बैंकहरूमा तरलता सहज छ र ब्याजदर निरन्तर घट्दो छ,’ उनले भनिन्, ‘शेयरबजार पनि समग्रमा घट्ने क्रम रोकिएको छ र अब फेरि बढ्ने दिशामा जान्छ भन्ने लाग्छ । त्यसैले मैले थप शेयर धितो कर्जा लिएकी हुँ ।’
राष्ट्र बैंकको तथ्यांकअनुसार शेयर धितो कर्जा प्रवाह गर्नेमा सबैभन्दा अगाडि ग्लोबल आइएमई बैंक छ । यस बैंकले चालू आवको कात्तिक मसान्तसम्ममा शेयर धितो राखेर ११ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गतवर्षको तुलनामा शेयर धितो कर्जा ७७ प्रतिशत वृद्धि भएको हो । गतवर्ष साउन–कात्तिकमा ग्लोबल आइएमई बैंकले ६ अर्ब २९ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो । दोस्रोमा नबिल बैंकले ११ अर्ब १४ करोड रुपैयाँ बराबर शेयर धितो कर्जा प्रवाह गरेको छ ।
२० वाणिज्य बैंकमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी नेपाल एसबिआई बैंकको शेयर धितो कर्जा वृद्धि भएको छ । यस बैंकले गतवर्ष कात्तिक मसान्सम्ममा २ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालू वर्षको सोही अवधिमा ४७ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ ।