अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको संघर्ष अन्त्य गराएको दाबीले उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दूरी पैदा गराएको छ । भारतले आतङ्कवादी शिविरहरूविरुद्ध मे ७ मा पाकिस्तानमा आक्रमण गरेपछि शुरू भएको छोटो तर तीव्र संघर्षलाई अन्त्य गरेको भन्दै ट्रम्पले एक साताअघि युद्धविराम भएको घोषणा गरेका थिए । तर नयाँ दिल्ली र वाशिङ्टनबीच यो कसरी सम्भव भयो भन्ने विषयमा मतभेद देखिएको छ ।
‘अमेरिकाले यस चरणमा हस्तक्षेप गर्दा ट्रम्पको भूमिका देखाउने अवसर मिल्नेछ भन्ने सोच बनायो,’ नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका विदेश नीति विशेषज्ञ हर्ष बी पन्तले एएफपीलाई बताए । ‘त्यही सोच नै ट्रम्पले हतारमा युद्धविराम घोषणा गर्न पुगेको मुख्य कारण बन्यो,’ उनले थपे ।
पहलगाम, जम्मु–कश्मीरमा २६ अप्रिलमा भएको आतङ्कवादी आक्रमणमा २६ जना सर्वसाधारण मारिएपछि भारतले पाकिस्तानमा आतङ्कवादी शिविरहरूमा हवाई र ड्रोन हमला गरेको थियो । भारतले यस हमलाको दोष पाकिस्तानलाई दिएको छ, जुन पाकिस्तानले अस्वीकार गरेको छ ।
चार दिनसम्म दुवै देशले मिसाइल, ड्रोन र तोपगोलासहित आक्रमण गरेपछि करिब ७० जनाको मृत्यु भयो, जसमा धेरैजसो सर्वसाधारण थिए र हजारौं मानिसहरू विस्थापित भए । त्यसपछि ट्रम्पले युद्धविराम घोषणा गरे ।
फक्स न्यूजसँगको अन्तरवार्तामा ट्रम्पले भारत र पाकिस्तानलाई ‘भीषण संघर्षबाट पछि हटाएको’ दाबी गर्दै भने, ‘यो त्यस्तो सफलता हो जुन मलाई कहिल्यै यथोचित श्रेय दिइँदैन ।’
तर, नयाँ दिल्लीले यी दाबीहरूलाई खारेज गर्यो । भारतको परराष्ट्र नीतिअनुसार कश्मीर विषयमा कुनै तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य छ । मोदीले युद्धविरामपछि दिएको पहिलो भाषणमा अमेरिकी भूमिकाको कुनै उल्लेख गरेनन् । सरकारका प्रवक्ताले पनि भारत–पाकिस्तान वार्ता पूर्ण रूपमा द्विपक्षीय भएको दाबी गरे ।
व्यापार र मौनता
ट्रम्पले युद्धविराममा व्यापार दबाबले भूमिका खेलेको दाबी गरे पनि भारतीय परराष्ट्र मन्त्रालयले यसलाई अस्वीकार गर्दै भन्यो, ‘व्यापारको विषय वार्तामा उठेन ।’ शोधकर्ता मनोज जोशी भन्छन्, ‘ट्रम्पको भाषा भारतका लागि झर्को लाग्दो छ ।’ यद्यपि भारतले वाशिङ्टनसँग व्यापार सम्झौता गर्न चाहेकाले यस विषयमा चुप लाग्न बाध्य भएको उनले बताए । ‘हामी चाहन्छौं एजेन्डा अर्को दिशातर्फ जाओस्,’ उनले भने ।
देशभित्रको राजनीति र त्रास
ट्रम्पको दाबीले भारतभित्र पनि बहस जन्माएको छ । प्रमुख विपक्षी कांग्रेस पार्टीले ट्रम्पको घोषणाले ‘मोदीको ढिलो प्रतिक्रिया’ माथि छाया परेको भन्दै कडा आलोचना गरेको छ । उसले कश्मीरमा तेस्रो पक्षीय मध्यस्थता नीति परिवर्तन भएको हो कि भनेर सर्वदलीय बैठक माग गरेको छ ।
भारत र पाकिस्तानले सन् १९७० को दशकमा आपसी मतभेदलाई केवल द्विपक्षीय वार्ताबाट समाधान गर्ने सहमति गरेका थिए ।मोदीले अघिल्ला कांग्रेस सरकारहरूलाई पाकिस्तानप्रति ‘कमजोर’ रहेको भन्दै व्यंग्य गरेका थिए । अब ट्रम्पको निरन्तर मध्यस्थता दाबीले उनलाई चुप लाग्न बाध्य बनाएको दक्षिण एशिया विश्लेषक प्रमित पाल चौधरीले बताएका छन् ।
ट्रम्पको भूमिकालाई पाकिस्तानले स्वागत गरेको छ । ‘उनीहरूलाई संघर्षबाट बाहिर निस्कन अमेरिकी हस्तक्षेप आवश्यक थियो,’ चौधरीले भने ।
विदेशमन्त्री एस जयशंकरले बिहीबार पुनः दोहोर्याए ‘पाकिस्तानसँगका हाम्रा सबै सम्बन्ध र छलफल पूर्णरूपमा द्विपक्षीय हुनेछन् ।’ तर ट्रम्पले फेरि युद्धविरामको श्रेय लिँदै भनेका छन्, ‘युद्ध होइन, व्यापार गरौं । पाकिस्तान खुसी भयो, भारत पनि खुसी भयो ।’ मोदीले अन्तिमपटक पाकिस्तानी नेतासँग भेटेको दशक बितिसकेको छ । सन् २०१९ मा भारतले कश्मीरको विशेष स्वायत्तता खारेज गरेपछि दुवै देशबीच सम्बन्ध अझ चिसिएको छ ।
‘भारत आफूलाई पाकिस्तानसँग बराबरीमा नजोडियोस् भन्ने चाहन्छ,’ जोशीले बताए, ‘तर ट्रम्पले लगातार जोडिरहँदा मोदीलाई राजनीतिक रूपमा घाटा भएको छ,’ दक्षिण एशिया अध्ययनकर्ता र येल विश्वविद्यालयका प्राध्यापक सुशान्त सिंहले एक्समा लेखेका छन् । ‘मोदीले ट्रम्पको दाबीलाई प्रत्यक्ष अस्वीकार गर्न सक्दैनन् र ठूला भारतीय मिडियाले यसलाई दबाउने प्रयास गरे पनि सामाजिक सञ्जालमा ट्रम्पको आवाज झनै गुन्जिन्छ,’ सिंहले लेखेका छन् ।
(न्यूइन्डियन एक्सप्रेसबाट)