काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ तर पाकिस्तानसँगै छुट्टिएको बंगलादेशसँग भारतको व्यापार युद्ध चर्किएको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले शनिवार एक सूचना जारी गरी भारतका विभिन्न स्थल भन्सार नाका हुँदै तयारी पोशाक लगायत धेरैथरि बंगलादेशी वस्तुको भारत निकासीमा रोक लगाएको छ ।
भारतको फुलवारी नाकाबाट पनि बंगलादेशी वस्तुको भारत निर्यात रोकिए पनि बंगलादेशी वस्तुको नेपाल निर्यात भने नरोकिएको सूचनामा स्पष्ट पारिएको छ । नेपाल र बंगलादेशबीचको अधिकांश व्यापार फुलवारी–बंगलावन्द मार्ग हुँदै हुन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म नेपालको बंगलादेश निर्यात ३८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको छ भने बंगलादेशबाट नेपालले ३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सामान आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
दुई छिमेकीबीच जस्तालाई त्यस्तै व्यवहार अन्तर्गत भारतले लगाएको प्रतिबन्धवाट बंगलादेशको तयारी पोशाक, फलफुल, हल्का पेय पदार्थ, प्रशोधित खाद्य वस्तुहरू जस्तै चकलेट, बेकरी र स्न्याक्स, कपास र कपासको धागो, प्लास्टिकका सामान र प्लास्टिक कच्चा पदार्थ र काठका फर्निचरहरूको भारत निर्यातमा असर गर्नेछ ।
यसअघि गत महिना भारतले आफ्ना केही स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज गरेको थियो । त्यसको विरुद्ध बंगलादेशले केही दिनभित्रै धेरै धागो, धूलो दूध, सुर्ती, न्यूजप्रिन्ट, आलु, माछा, विभिन्न प्रकारका कागज र पेपरबोर्ड, रेडियो र टेलिभिजनका पार्टपुर्जा, साइकल र सवारीसाधनका पार्टपुर्जा, सेरामिक र सेनिटरिवेयर, स्टेनलेस स्टील, मार्बल र टायलका स्लाब, डुप्लेक्स बोर्ड, क्राफ्ट पेपरलगायत वस्तु भारतबाट आयात गर्न प्रतिबन्ध लगाएको हो ।
त्यसबेला ढाकाले नेपाल र भुटानबाट दुईथरि वस्तु आफ्नो मुलुकमा आयात गर्न रोक लगाएको घोषणा गरेको थियो । बंगलादेशको नेशनल बोर्ड अफ रिभेन्युले नेपाल र भुटानबाट हुने यार्न (धागो) र आलु आयातमा प्रतिबन्ध लगाएको भए पनि नेपालबाट यी वस्तुको बंगलादेश निर्यात नगन्य छ ।
भारतले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई आफ्नो देशमा शरण दिएदेखि दुई देशबीचको सम्बन्ध चिसिएको छ । गत जनवरीमा पाकिस्तानको बाह्य जासुसी संस्था इन्टर सर्भिसेज इन्टिलिजेन्सका पदाधिकारीहरूले पनि बंगलादेश भ्रमण गरेको समाचार सार्वजनिक भएका थिए । बंगलादेश भारतको सहयोगमा पाकिस्तानबाट छुट्टिएको देश हो । शेख हसिनाको सरकार भारतपरस्त मानिन्थ्यो । तर, सडक आन्दोलनबाट उनको सत्ता गएपछि बंगलादेशमा युनुस नेतृत्वको अन्तरिम सरकार छ ।