काठमाडौं । सिंगापुरमा रहेर व्यवसाय गरिरहेका नेपाली मूलका व्यवसायी चन्द्रप्रकाश (सीपी) खेतानले त्यहाँको डक्सटन रिजर्भ सिंगापुर होटेल खरीद गरेका छन् । लोटस वान इन्भेस्टमेन्टमार्फत उनले ८० मिलियन सिंगापुर डलर (करीब ८ अर्ब ४४ करोड रुपैयाँ) मा उक्त होटेल खरीद गरेका हुन् । ४९ ओटा सुविधासम्पन्न कोठा रहेको डक्सटन रिजर्भ म्यारियट इन्टरनेशनलको अटोग्राफ कलेक्शन’अन्तर्गत सञ्चालन भइरहेको छ । होटेल खरीदका लागि लोटस वन इन्भेस्टमेन्टलाई सम्पत्ति प्राप्तिमा सिंगापुरस्थित ‘लाइट हाउस क्यान्टन’ले पोर्टफोलियो सल्लाहकारको भूमिका निर्वाह गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
प्रख्यात ब्रिटिश डिजाइनर अनुस्का हेम्पेलले डिजाइन गरेको डक्सटन रिजर्भ सिंगापुरका सबैभन्दा विशिष्ट बुटिक होटेलमध्ये एकका रूपमा स्थापित भइसकेको छ । द गार्चा ग्रूपले होटेललाई पुनःस्थापित गरी प्रमुख गन्तव्यका रूपमा उभ्याएको हो ।
सिंगापुरमा बसोवास गरिरहेका गैरआवासीय नेपाली खेतान व्यवसायी राजेन्द्र खेतानका भाइ हुन् । पछिल्लो समय खेतान समूहले नेपालका विभिन्न व्यवसायमा गरेको लगानी विक्रीसँगै सिंगापुरलगायत देशमा लगानी थपिरहेको छ । पछिल्लोपटक खेतान समूहले बियर उत्पादक कम्पनी गोरखा ब्रुअरीको शेयर विक्री गरेको थियो । लोटस वान सिंगापुरमा आधारित इन्भेस्टमेन्ट कम्पनी हो । तीन दशकभन्दा बढी समयदेखि कम्पनीले एशियाका विभिन्न देशमा उपभोक्ता र अन्य रणनीतिक उद्योगहरूमा काम गरिरहेको छ । अब विश्वव्यापी रूपमा आफ्नो पोर्टफोलियो विस्तार गरिरहेको कम्पनीले मूल्यमा आधारित लगानी दृष्टिकोणमार्फत दिगोपन, सांस्कृतिक संरक्षण र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिएको बताएको छ ।
लोटस वन इन्भेस्टमेन्ट कम्पनीको निर्देशक निर्मल सिंह शहरको सम्पदा र चरित्र झल्काउने डक्सटन रिजर्भ होटेलमा लगानी गर्न पाउँदा गर्वित भएको बताउँछन् ।