काठमाडौं । कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधवार पक्राउ गर्यो । ५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत बाँकेबाट पनि सोही बराबरकै बिगोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । दुवै गरी १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बैंकिङ कसुरको मुद्दामा दिनदिनै जसो प्रतिवादीहरूलाई पक्राउ गर्ने गरेको छ । प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना दिन प्रतिदिन बढ्दै गएका छन् । बैंकिङ कसुरसम्बन्धी घटना सबैभन्दा धेरै काठमाडौं उपत्यकाको प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको प्रहरी उच्च अधिकारी बताउँछन् ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार २०८१ साउनदेखि कात्तिकसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र २ हजार ६२९ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । गतवर्ष सोही अवधिमा उपत्यकामा २ हजार ३७९ मुद्दा दर्ता भएका थिए ।
पछिल्लो ४ महीनामा देशभरका प्रहरी कार्यालयमा ४ हजार ३५९ मुद्दा दर्ता भए । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा ४ हजार १९० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाउँछ छ । कुल मुद्दा संख्याको ५७ दशमलव ७७ प्रतिशत उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।
‘चालू आवको पछिल्लो ४ महीनामा सबैभन्दा थोरै बैंकिङ कसुरका मुद्दा कर्णाली प्रदेशमा दर्ता भएको छ,’ उनले भने । बैंकको निक्षेप जथाभावी अपचल गर्ने र बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा बैंकिङ कसुर मान्ने गरिएको छ । अपचलन तथा निक्षेप कम भए पनि जानीजानी चेक काट्ने र अरुलाई छल्ने प्रवृत्ति ह्वात्तै बढ्दा प्रहरीमा मुद्दाको चाङ लाग्न थालेको अधिकारीहरूको भनाइ छ । त्यस्ता मुद्दा हेर्न प्रहरीलाई सकससमेत पर्ने गरेको छ । अधिकारीहरूका अनुसार प्रहरीमा यससम्बन्धी मुद्दा हेर्न छुट्टै युनिट आवश्यक छ । अहिलेको जनशक्ति यसबारे धेरै जानकार नभएको, प्रविधिको समेत अभाव रहँदा प्रहरीमा वित्तीय अपराध हेर्न सकस परिरहेको एसएसपी अधिकारीले बताए ।
बैंकिङ कसुरका मात्रै नभई पछिल्लो समय सामाजिक अपराधका घट्ना समेत बढिरहेका छन् । चालू आवको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण हेर्दा दैनिक औैसतमा १६२ ओटा मुद्दा दर्ता हुने गरेका छन् । जसमा आत्महत्याका दैनिक २० ओटा घटना र जबरजस्ती करणीका दैनिक ७ ओटा मुद्दा दर्ता हुन्छन् । यसले गर्दा त्यस्ता घटना नियन्त्रण गर्न समेत चुनौती थपिँदै गएको प्रहरी अधिकारीहरूको भनाइ छ ।