काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बीमा शुल्क प्राप्त नगरी बीमा जोखिम स्वीकार गरेको देखिएको छ । कम्पनीको आर्थिक वर्ष (आव) ०७३/७४ र ०७४/७५ का लेखापरीक्षकहरूको प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।
‘बीमा ऐन, २०४९ को दफा २७ अनुसार बीमा शुल्क प्राप्त नगरेसम्म बीमा जोखिम स्वीकार गर्न नहुने र नियमावली २०४९ को २६ (ग) अनुसार बीमितले बीमा शुल्क नबुझाएसम्म बीमक र बीमित बीचमा कारोवार भएकै नमानिने स्पष्ट व्यवस्था हुँदाहुँदै कम्पनीले बीमा प्रिमियम रकम बाँकी राखी बीमा स्वीकार गरेको पाइयो,’ कम्पनीका लेखापरीक्षकहरूको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले कतिपय अवस्थामा बीमा प्रिमियम प्राप्त नभई बीमा आम्दानी बाँधेको देखिएको र यस्तो कार्य उपयुक्त नभएको प्रतिवेदनमा भनिएको छ ।
साथै कम्पनीले बीमा आम्दानीअन्तर्गत शुरुको मौज्दातको उपयुक्त समायोजन नगरेको लेखापरीक्षकहरूले औंल्याएका छन् ।
यस शीर्षक अन्तर्गत शुरू मौज्दातको रूपमा रू. ४ करोड ७७ लाख १५ हजार ९६२ सारिएकोमा यस वर्ष (आव ०७४/७५) रू. २ करोड २९ लाख १६ हजार १५८ थप भई जम्मा रू. ७ करोड ०६ लाख ३२ हजार १२० हुन आएको देखिन्छ । यस्तो मौज्दातको तेश्रो पक्षबाट पुष्टीकरण पनि नलिइएको प्रतिवेदनमा उल्लेख छ ।