काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउन भन्दै लचिलो मौद्रिक नीति जारी गरे पनि बैंक, वित्तीय संस्थाको कर्जा प्रवाहको वृद्धिदर भने ज्यादै न्यून देखिएको छ । चालू आर्थिक वर्षको कात्तिकमा त असोजको तुलनामा ७ अर्ब रुपैयाँभन्दा धेरैले कर्जा प्रवाह घटेको तथ्यांकले देखाउँछ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को कात्तिकसम्ममा बैंक, वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह असारको तुलनामा २ दशमलव ३ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आवको असारमा बैंकहरूको कुल कर्जा प्रवाह ५१ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा कात्तिकमा आइपुग्दा ५२ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले चालू आवमा निजीक्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार हुने लक्ष्य राखेको छ । बैंक, वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य पूँजी हुनुका साथै ब्याजदर एकल अंकमा झरे पनि कर्जाको माग नभएको बैंकरहरू बताउँछन् । आयात, मार्जिन र उपभोग्य क्षेत्रमा थोरैथोरै कर्जा गए पनि ठूलो उद्योगका लागि माग नभएको उनीहरूको भनाइ छ ।
- मौद्रिक नीतिमा निजीक्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार हुने प्रक्षेपण
- असारको तुलनामा २ दशमलव ३ प्रतिशतले मात्र वृद्धि
- आयातका लागि र शेयर धितोमा कर्जा विस्तार बढी
- साना तथा मझौला उद्योगका साथै विपन्न वर्गमा जाने कर्जाको विस्तार नकारात्मक
- अर्थतन्त्रको तल्लो तहसम्म मन्दी देखिएको विज्ञको भनाइ
‘अहिले बैंकले आयात, मार्जिन ट्रेडिङ र कन्जुमेबल क्षेत्रमा ससानो कर्जा दिइरहेका छन्,’ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने, ‘ठूला उद्योगीहरूबाट कर्जामा माग छैन ।’
नेपाल उद्योग परिसंघको बैंक तथा वित्तीय संस्था समितिका सभापति अनलराज भट्टराई केन्द्रीय बैंकले मौद्रिक नीति लचिलो भने पनि निर्देशनहरू कसिलो हुँदा ऋणको माग बढ्न नसकेको बताउँछन् ।
‘अहिले बैंकिङ क्षेत्रसँग तरलता पर्याप्त छ, ब्याजदर पनि न्यून बिन्दुमा झरेको छ,’ उनले भने, ‘मौद्रिक नीति खुकुलो भने पनि निर्देशनहरू कसिलो बनाउँदा व्यवसायीले ऋण लिन सकेका छैनन् ।’ चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा कारोबारका आधारमा मात्र ऋण लिन पाउने व्यवस्था गर्दा व्यवसायीको थप ऋण लिने क्षमता कमजोर भएको उनले बताए ।
राष्ट्र बैंकका तथ्यांकअनुसार चालू आवमा कर्जा विस्तार सबैभन्दा आयात तथा शेयर धितोमा केन्द्रित देखिएको छ । तर, अर्थतन्त्रको आधार मानिएको साना तथा मझौला उद्योगका साथै विपन्न वर्गमा जाने कर्जाको विस्तार नकारात्मक भएको छ ।
गत आवको असारको तुलनामा चालू आवको कात्तिकसम्ममा सबैभन्दा बढी आयातका लागि प्रवाह हुने ‘ट्रस्ट रिसिप्ट’ कर्जा २२ दशमलव १ प्रतिशत बढेको छ । यसैगरी शेयर धितो कर्जा १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी साना तथा मझौला उद्योगमा जाने कर्जा १ दशमलव ४ प्रतिशतले घटेको देखिन्छ । पछिल्लो समयमा बचत तथा ऋण सहकारीहरू समस्यामा पर्न थालेपछि तल्लो तहसम्म आर्थिक गतिविधि प्रभावित भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा साना तथा मझौला उद्यममा प्रवाह हुने कर्जा घट्नुले अर्थतन्त्रको तल्लो तहसम्म मन्दी देखिएको संकेत गर्ने बताउँछन् । पछिल्लो समय बजारमा माग घट्दा उद्योगहरूसमेत पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत बुधवारसम्ममा बैंकहरूले ६६ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह कम हुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ८० प्रतिशतमा झरेको छ ।
बैंकहरूले सीडी रेसियो ९० प्रतिशतसम्म कायम गरी कर्जा दिन पाउने भएकाले करीब साढे ७ खर्ब रुपैयाँ थप कर्जा दिन सक्ने क्षमता छ । तर, बैंकहरूको खराब कर्जा उच्च हुँदा पूँजीकोषमा दबाब भएकाले लगानीयोग्य पूँजी भए पनि कर्जा विस्तारमा प्राथमिकता नदिएको भट्टराईको बुझाइ छ ।
बैंकहरूको कर्जा नबढ्दा वित्तीय प्रणालीमा देखिएको अधिक तरलता राष्ट्र बैंकमा थुप्रिइरहेको छ । कात्तिकसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले बताएको छ ।