नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्था आएपछि सबैभन्दा ठूलो उपलब्धि भनेकै नागरिकहरू सार्वभौम हुनु हो । यसै क्रममा अहिले स्थानीय सरकारहरू बलिया हुने क्रममा छन् । कतिपय स्वयम् सक्षम हुनथालेका पनि छन् । तर, यसै मेसोमा अधिकांश स्थानीय सरकारहरूले भने नागरिकलाई करका भारीले थिचेका मात्र छैनन् कतिपयको त उठिबासै पनि पार्नथालेका छन् । त्यो अर्कै कुरा होला । साधनै नभई सम्पन्न र बलियो हुने कुरा पनि भएन । तर, नागरिकलाई गरिखाने अवसर र उपयुक्त वातावरण पहिले बनाउनुपर्ने हो । त्यसमा स्थानीय सरकारहरू चुकिराखेका छन् । कतिपय त भ्रष्टाचारमा चुर्लुम्मै डुबेका तथ्यहरू पनि आउन थालेकाले वितृष्णा पनि पलाएको छ । कतिपयले राम्रा काम पनि देखाएका छन् ।
स्थानीय सरकारहरूको यस्तै तीता मीठा अनुभवहरू आइरहेकै प्रसंगमा ललितपुर महानगरपालिकाका वर्तमान मेयर चिरीबाबु महर्जनले दुईजना स्थानीय संस्कृतिविज्ञहरू ( हरिराम जोशी र धर्मबहादुर कायस्थ) लाई सम्मान गरेर आजीवन सवारीसाधन, गार्ड र सुरक्षाको प्रबन्ध मिलाएको खबर सार्वजनिक भएको छ, छापामा र दृश्य समाचारमा । ती दुवै उमेरले ८ दशक नाघेका ज्येष्ठ नागरिक पनि हुन् र ती दुवैले यो क्षेत्रमा प्रशस्त योगदान दिएका पनि छन् । पक्कै पनि साहित्य, कला र संस्कृतिका क्षेत्रमा चासो राख्नेहरूका लागि यो सुखद र असलै कुरा हो । केही वर्षपहिले उनै महर्जनकै पहिलो कार्यकालमा संस्कृतिविद् स्व. सत्यमोहन जोशीलाई आजीवन त्यस्तै चालकसहितको सवारीसाधन र गार्ड उपलब्ध गराएर उल्लेख्य मात्र होइन असल र उदाहरणीय काम गरेकै हुन् । सामान्यतया राजनीतिमा होमिएकाहरूले यसखाले सोच बिरलै राख्छन् । कतिपय साहित्य कला र संस्कृतिप्रति चासो र लगावै भएकाहरू सत्ताको बागडोरमा पुगिरहँदा पनि यस खाले कार्यहरू गर्न चुक्छन् । सत्ताबहिर्गमनपछि ती पछुताएको थाहा छैन । तर, चिरीबाबु महर्जनको साहित्य, कला र संस्कृतिलाई यसरी पनि सम्मान र जोगाड गरेर लान सकिन्छ भन्ने सोच देखेर यो लेखन्तेलाई केही लेख्न मन लागेको हो । यो कार्य त चिरीबाबुलाई चिरञ्जीवी बनाउने कार्य हो भन्ने लागेको छ ।
ज्येष्ठ नागरिकका लागि नि:शुल्क नसकिए पनि कमसेकम सरल, सहज र तत्काल स्वास्थोपचार उपलब्ध हुने सुविधा, अस्पताल बस्नुपर्नेहरूका लागि बेडको अनिवार्य र नि:शुल्क उपलब्धता, सार्वजनिक पार्कहरूमा ज्येष्ठ नागरिकमैत्री वातावरण मिलाउने कार्य आदि विषयमा चिरीबाबुले सोच्नु आवश्यक देखिएको छ ।
यिनकै सक्रियतामा केही वषर्पहिले ललितपुरभित्र रहेका प्राचीन रूखहरूका बारेमा अध्ययन गर्न केही वनस्पति विज्ञहरूलाई लगाएको र तीबाट उल्लेखनीय पुस्तकसमेत प्रकाशनमा आएको कुरा पढिएको हो । यसै पनि ललितपुर, प्राचीन यल:, ललितकलाका सम्पदामा बेजोड रहेको छ । यहाँको रातो मत्स्येन्द्रनाथको रथ तान्ने परम्परा धेरै प्राचीन छ । उसैगरी कात्तिक नाच होस् कि हरिसिद्धिको प्राचीन नाच होस्, मल्लकालीन सभ्यताका परम्परा, कलाकौशल हुन्, ती हेर्न नै पर्यटक आउने कुरामा शंका छैन । यसले यो नगरीको मात्र होइन नेपालकै सांस्कृतिक पर्यटनलाई टेवा पुगेको कुरामा विमति हुन्न । पचासौं वर्ष मुद्दा खेपेरै भए पनि गुम्नै लागेको लगनखेलको पाताल पोखरीको संरक्षण र फल्चा आदिको जोगाड गर्दै गरिएका उदाहरण त्यहाँ पुग्नेहरूले आँखैले देखेका पनि छन् । महर्जनको यो सांस्कृतिक चेत र जुझारुपनको प्रशंसा गर्नैपर्छ । जोगाड गर्नपर्ने स्थानीय निकायमा अन्य पनि क्षेत्रहरू त होलान् तर सम्पदाको संरक्षणमा लागेका माथि उल्लिखित साधकहरूलाई सम्मान र कदर गर्ने यो राम्रो कार्य हो भन्छु म । यो मेरो स्वकीय विचार हो ।
बेलाबेला ललितपुरका यी मेयर केही अनौठा कामहका लागि चर्चामा आउँछन् । उदाहरणका लागि सडकहरूमा साइकल लेन बनाउने (थप बनाउने होइन, भएकै सडकमा रेखांकन गर्ने, छुट्ट्याउने कुरा) र साइकलमैत्री वातावरणको सवारी व्यवस्थापन गर्ने कुरालाई नै हेरौं । तर, त्यो कामयावी भएन वा उनले त्यसमा साथै पाएनन् कि ? ललितपुर नगरभित्रका मूल सडकमा साइकल लेन भनी सडकमा रंग पोतिएको त अझै पनि देख्न सकिन्छ । तर, साइकल होइन त्यहाँ अरू नै सवारीसाधनले ढाकिएका देखिन्छन् । केही कालसम्म त लगनखेलतिर सडककै छेउमा एकखाले पिलर राखेरै पनि साइकल लेन छुट्ट्याएको पाइयो तर त्यो व्यावहारिक थिएन । अहिले त्यो उखेलिएको देखिन्छ । साइकलमैत्री सडक हुनु नराम्रो कुरा होइन, यूरोपका कतिपय मुलुकले त्यो उदाहरण देखाएका पनि छन् ।
साइकलमैत्री सडक हुनु नराम्रो कुरा होइन, यूरोपका कतिपय मुलुकले त्यो उदाहरण देखाएका पनि छन् । तर, यहाँका वर्तमान सडकको भद्रगोले वातावरणमा साइकल यात्रीहरूको जीवनै जोखिममा पर्ने स्थितिमा साइकल लेनका कुरा केही हावादारी पनि लाग्लान् ।
तर, यहाँका वर्तमान सडकको भद्रगोले वातावरणमा साइकल यात्रीहरूको जीवनै जोखिममा पर्ने स्थितिमा साइकल लेनका कुरा केही हावादारी पनि लाग्लान् । तर सोच राख्नु नराम्रो होइन । यसकै कुरा गर्दा कमसेकम उपत्यकाको चक्रपथवरिपरि कुनै बेला छुट्ट्याइएको ग्रीन बेल्टलाई पुनर्ताजगी गरेर त्यसभित्रको एका छेउमा बेग्लै साइकल लेन बनाइदिने हो भने साइकलका सौखिनहरूले सुरक्षित मनोरञ्जन र अवतरण पाउलान् । नत्र भद्रगोले सडकमा रंग पोतेर साइकल चलाउनू भन्नु सुरक्षाका दृष्टिले पनि उचित होइन । राजधानीको सानो भूगोलमा गुड्ने सवारीको संख्या करीब २५ लाख होला । अचेल साइकल चलाउनु भनेको सोख मात्र हो, सवारीकै प्रयोजनमा अत्यन्त कमले मात्र सुरक्षाको जोखिम मोलेर चलाएका देखिन्छन् । यसैले विद्यमान सडककै हालतमा साइकल लेन बनाउनु, छुट्ट्याउनु व्यावहारिक छैन । बरु सकिन्छ भने मोटरसाइकलहरूका लागि भएकै सडकमा पनि रेखांकनको आवश्यकता देखिएको छ । यस्तो कार्यमा सडक विभाग नै अघि सर्नुपर्छ । अहिले एआई जडित ट्राफिक लाइट राखेर उनले थप नयाँ काम थालेका छन् ।
चिरीबाबुको माथि उल्लिखित सम्पदा संरक्षणको कार्य प्रशंसनीय त हुँदै हो, कमसेकम यस्ता कार्यको सिको अरू स्थानीय सरकारहरूले पनि गरे हुन्थ्यो । तर, सवारीसाधन र गार्ड उपलब्ध गराउनु नै सबैथोक होइन, ज्येष्ठ नागरिकको अवस्थामा पुगेकाहरूलाई नि:शुल्क नसकिए पनि कमसेकम सरल, सहज र तत्काल स्वास्थोपचार उपलब्ध हुने सुविधा, अस्पताल बस्नुपर्नेहरूका लागि बेडको अनिवार्य र नि:शुल्क उपलब्धता, सन्तान विदेशिएकाहरूको ज्येष्ठ नागरिक बाबुआमालाई हेरचाह गर्ने व्यवस्था, सार्वजनिक पार्कहरूमा ज्येष्ठ नागरिकमैत्री वातावरण मिलाउने कार्य, सार्वजनिक वाचनालयको व्यवस्थाजस्ता विषयमा पनि आगामी समयमा चिरीबाबुले सोच्नु आवश्यक देखिएको छ । सानै कुरा नै सही अन्त्यमा, ललितपुरभित्र सरकारी र निजी अस्पतालको अभाव छैन । सरकारीको त कुरै भएन भीड नै थामिनसक्नु हुन्छ । कमसेकम निजी क्षेत्रका (१० ओटाभन्दा धेरै छन् र ती ज्यादै महँगा छन्) अस्पतालहरूमा माथि उल्लिखित स्वास्थोपचारको व्यवस्था गर्न अब चिरीबाबुले आँट गर्नैपर्छ । कामले नै हो चिरञ्जीवी बन्ने, भाषणले होइन । चिरीबाबुको चिरञ्जीवि कार्यले सबैको साथ पाओस् ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।