काठमाडौं । वैशाख महीनामा भएको कुल धितोपत्र कारोबार रकममा ङादी ग्रुप पावरको सर्वाधिक हिस्सा रहेको छ ।
यो महीना कुल १ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढीको ४४ करोड ४० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । सोमध्ये सर्वाधिक हिस्सा कायम भएको ङादी ग्रुप पावरको ११ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
कुल कारोबार रकमसँगै कुल कारोबार कित्ता पनि ङादी ग्रुपकै रहेको छ । नेप्सेका अनुसार वैशाख महीनामा उल्लेखित रकम बराबरको ङादी ग्रुप पावरको ३ करोड २० लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो ।
सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य वैशाखमा प्रतिकित्ता ८२ रुपैयाँ ३८ पैसाले बढेको छ । चैत मसान्तसम्म प्रतिकित्ता २८६ रुपैयाँ २४ पैसा रहेको ङादी ग्रुप पावरको शेयर मूल्य वैशाख मसान्तसम्म भने प्रतिकित्ता ३६८ रुपैयाँ ६२ पैसा कायम भएको हो ।
वैशाखमा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीहरूको सूचीमा ६ जलविद्युत कम्पनी छन् । यो सूचीमा ङादी ग्रुप पावरसँगै दोस्रो नम्बरमा राधी विद्युत कम्पनी, तेस्रोमा सानिमा माई हाइड्रोपावर, पाँचौंमा युनिभर्सल पावर, सातौंमा बलेफी हाइड्रोपावर, आठौंमा हिमालयन पावर पार्टनर छ । यीबाहेक चौथो नम्बरमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेको छ भने हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्टको सर्वसाधारणतर्फको शेयर कारोबार सर्वाधिक छैटौं नम्बरमा र यसै कम्पनीको संस्थापक शेयर दशौं नम्बरमा कारोबार भएको छ ।
सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको सूचीमा नवौं नम्बरमा भने हिमालयन रिइन्स्योरेन्स रहेको छ । धितोपत्र दोस्रो बजारमा संस्थापक शेयरको कारोबार पछिल्लो महीना बढेको छ ।
नेप्सेको तथ्यांकअनुसार चैतको तुलनामा वैशाखमा संस्थापक शेयरको कारोबार करीब २३७ प्रतिशत बढी भएको हो । यो अवस्थामा हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरको ४ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस कम्पनीको दोस्रो बजारमा सूचीकृत सबै शेयरको 'लकइन' समाप्त भइसकेको छ । कम्पनीको सर्वसाधारणतर्फको शेयर र संस्थापकतर्फको शेयर छुट्टै कारोबार हुँदै आएको छ ।
पछिल्लो समय हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्टको सर्वसाधारणतर्फको शेयरको मूल्य प्रतिकित्ता २९६ रुपैयाँ ९० पैसा र हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्टको संस्थापक तर्फको शेयरको मूल्य प्रतिकित्ता २०३ रुपैयाँ १० पैसा कायम छ ।