काठमाडौँ । यातायात व्यवसायीले आज देशव्यापी रूपमा यातायात ठप्प पारेका छन् । उनीहरूले अनिश्चितकालीन यातायात बन्द गर्दा यात्रुहरू प्रभावित भएका छन् ।
सार्वजनिक यातायात ठप्प हुँदा आज यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न कठिन भएको छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा काठमाडौँ उपत्यकाका सडकहरूमा फाट्टफुट्ट निजी गाडी र मोटरसाइकलमात्र कुदेका देखिए ।
यातायात बन्दका कारण कतिपय पठाओ‚ इनड्राइभजस्ता राइड शेयरिङ सेवा लिएर गन्तव्यमा जान बाध्य भएका थिए । उनीहरू सडकमा राइड शेयरिङका मोटरसाइकल चालकहरूसँग भाडाको मोलमोलाई गरिरहेका देखिन्थे ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि गण्डकीबाट आन्दोलन थालेका थिए । बाग्मतीलगायत अन्य प्रदेशले पनि यससम्बन्धी नियमावली जारी गर्ने तयारी गरिरहँदा उनीहरूले आन्दोलन थालेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ, एकीकृत समाजवादी यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले सार्वजनिक यातायात सेवा ठप्प पार्ने चेतावनी दिँदै आएका थिए । सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेर यातायात ठप्प पारेको हो ।
यातायात बन्दमा देखिएका सडक । तस्वीरहरूः