विराटनगर/वीरगञ्ज । प्रशोधित भटमास र सूर्यमुखी तेलका कारण ह्वात्तै बढेको नेपालको समग्र निकासी भारतको एक निर्णयले फेरि स्वात्तै घट्ने जोखिममा परेको छ ।
भारतले अन्य देशबाट आयात हुने कच्चा भटमास, सूर्यमुखी र पाम तेलमा लाग्ने आधारभूत भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेपछि नेपालबाट प्रशोधित तेलको निर्यात प्रभावित हुने देखिएको हो । अन्य शुल्कसमेत जोडेर भारतमा अब कच्चा खानेतेल आयातमा लागू हुने भन्सार दर १६ दशमलव ५ प्रतिशत हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसअघि भारतले आधारभूत भन्सार दर र अन्य शुल्क मिलाएर सार्कबाहेक अन्य देशबाट आयात हुने प्रशोधित खानेतेलबाट २७ दशमलव ५ प्रतिशत राजस्व असुल्थ्यो ।
भारतको केन्द्रीय सरकारको वित्त मन्त्रालयअन्तर्गतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्सेस एन्ड कस्टम्सले शुक्रवार एक सूचना जारी गर्दै यो नयाँ नियम मे ३१ (जेठ १७ गते) देखि लागू हुने बताएको छ ।
- भारतले अन्य देशबाट आयात हुने कच्चा भटमास, सूर्यमुखी र पाम तेलको आयातमा लाग्ने आधारभूत भन्सार दर २० बाट १० प्रतिशतमा झार्यो
- अन्य शुल्कसमेत जोडेर शनिवारबाटै १६ दशमलव ५ प्रतिशतको नयाँ भन्सार दर लागू
- नेपालमा पनि सार्कबाहेक अन्य देशबाट आउने कच्चा खानेतेलमा १० प्रतिशत भन्सार
- अब भारतीय बजारमा नेपाली खानेतेल प्रशोधन उद्योगका उत्पादनको प्रतिस्पर्धी क्षमता घट्ने
नेपालले सार्कबाहेक अन्य देशबाट आयात हुने कच्चा खानेतेलमा १० प्रतिशत भन्सार लगाउँदै आएको छ । दक्षिण एशियाली खुला बजार सम्झौता (साफ्टा) अनुसार नेपालले प्रशोधित खानेतेल शून्य भन्सार दरमा भारत निर्यात गर्दै आएको छ । भारतले अन्य देशबाट आउने कच्चा खानेतेलमा लगाएको उच्च भन्सार दरको कारण नेपाली व्यवसायीले उल्लेख्य परिमाणमा प्रशोधित खानेतेल भारत निर्यात गर्न पाएका हुन् ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को बैशाख मसान्तसम्म नेपालबाट प्रशोधित भटमास र सूर्यमुखी तेल गरी ८८ अर्ब ८४ करोड रुपैयाँबराबरको निकासी भएको छ, जुन कुल वस्तु निर्यातको झन्डै ४१ प्रतिशत हो । सो अवधिमा नेपालको जम्मा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
भारतले पाम, सूर्यमुखी र भटमासको अप्रशोधित तेल आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालका तेल उत्पादक उद्योगीहरू चिन्तामा परेका छन् ।
उनीहरूका अनुसार भारतको पछिल्लो निर्णयका कारण यी वस्तुको भारत निर्यात उल्लेख्य प्रभावित हुनेछ । उनीहरूका अनुसार देशका २७ ओटा तेल प्रशोधन उद्योग यो निर्णयले प्रभावित हुनेछन् ।
भारतीय व्यवसायीले अप्रशोधित खानेतेल आयात गर्दा उनीहरूको लागत पनि घट्नेछ । फलस्वरूप नेपालबाट प्रशोधन भएर जाने तेल र भारतमै प्रशोधन हुने तेलको मूल्यमा धेरै फरक पर्ने छैन । त्यसैले नेपालको निर्यात प्रभावित हुने देखिएको हो ।
वीरगञ्जस्थित तेल प्रशोधन उद्योग ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले नेपालको निर्यात अवश्य प्रभावित हुने बताए ।
‘भारत सरकारको निर्णयका कारण नेपालबाट निर्यात हुने खानेतेल सीमावर्ती भारतीय बजारमा जान सम्भव भए पनि टाढा निर्यात हुन सक्दैन,’ उनले भने । नेपालका उद्योगीले १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट बैंक ग्यारेन्टीमा ल्याएको कच्चा तेल निकासी गरेपछि फिर्ता पाउँछन् ।’
विराटनगरमा मात्रै आठओटा वनस्पति घिउ, तेल उद्योग छन् । उनीहरूले स्वदेशी र भारतीय बजारलाई लक्ष्य गरेर तेल उत्पादन गर्दै आएका छन् । भारतीय निर्णयका कारण नेपाली वस्तु भारतीय बजारमा कम प्रतिस्पर्धी हुने र त्यसले निर्यातमा असर गर्ने पशुपति खाद्य तेल उद्योगका सञ्चालक तथा मोरङ उद्योग व्यापार संघका सचिव अमित शारडाले बताए ।
उनले भने, ‘भारतले पहिले पनि मूल्य घटाएर हामीलाई समस्यामा पारेको थियो, अब फेरि समस्या थपिएको छ । सरकारले कूटनीतिक माध्यमबाट भारत सरकारसँग वार्ता गरेर यहाँका उद्योगलाई बचाउने काम गर्नुपर्छ ।’
क्वालिटी रिफाइनरी उद्योगका सञ्चालक तथा उद्योग संगठन मोरङका कोषाध्यक्ष विपीन काबराले सरकार निर्यात गर्ने उद्योगलाई प्रोत्साहन हुने नीति लिएर अघि बढ्नुपर्ने र यस्ता समस्याको समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने बताए । ‘तेलको मूख्य बजार भारत नै भएकाले नेपालबाट निकासी हुने तेलले भारतीय उद्योगबाट उत्पादित तेलसँग नै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ,’ काबराले भने‚ ‘अहिले भारत सरकारले लिएको निर्णय नेपाली उद्योगका लागि सुखद छैन ।’
भारत सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न भन्सार दर घटाइएको बताएको छ । भारतीय तेल प्रशोधन उद्योगहरूले पनि भन्सार दर घटाउन लामो समयदेखि माग गर्दै आएका थिए । यसअघि पनि भारतले कच्चा खानेतेलमा लाग्ने भन्सार घटाउँदा नेपालको निर्यात प्रभावित भएको थियो ।
नयाँ दिल्लीले सन् २०२२ को सेप्टेम्बरमा अप्रशोधित तेल आयातमा लाग्ने भन्सार दर शून्य बनाएको थियो । त्यसको असर नेपालबाट निर्यात हुने प्रशोधित तेलमा परेको थियो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आव २०७७/७८ मा नेपालले ५३ अर्ब ६५ करोड रुपैयाँको भटमासको तेल भारत निर्यात गरेको थियो । त्यो कुल निर्यातको ३८ प्रतिशत थियो । त्यस वर्ष सूर्यमुखी तेलको निर्यात २ अर्ब २४ करोड रुपैयाँ बराबर थियो । पाम तेलको निर्यात कम थियो ।
आव २०८०/८१ मा आइपुग्दा पाम तेल ६ अर्ब ३३ करोड र भटमास तेल ९० करोड रुपैयाँको मात्रै निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । सूर्यमुखी तेल १६ करोडको मात्र निर्यात भएको तथ्यांक छ ।