हेटौंडा । बागमती प्रदेशसभाले सोमवारको बैठकबाट दुईओटा महत्त्जपूर्ण विधेयकहरू सर्वसम्मत पारित गरेको छ । सोमवार बसेको प्रदेशसभाको बैठकले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित गरेको हो ।
सभामुख भुवनकुमार पाठकले दुवै विधेयक निर्णयार्थ सभामा पेश गर्दा बैठकले सर्वसम्मत पारित भएको घोषणा गरेका थिए । विधेयकमाथि छलफलका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रतिवेदनसहितको प्रस्ताव पेश गरेकी थिइन् । छलफलका क्रममा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए ।
मन्त्री तामाङले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै संशोधनले प्रदेशमा सञ्चालित उद्योग व्यवसायलाई अझै टेवा दिने बताइन् । उनले संशोधनपश्चात् विधेयकले उद्योगी व्यवसायीहरूलाई उद्योग व्यवसाय सञ्चालन गर्न धेरै सहज बनाउने बताइन् ।
विधेयकले कानूनी जटिलता समाधान भई उद्योगी तथा व्यवसायीका लागि सहज वातावरण तयार हुने दावी गरिन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेपछि दुवै विधेयकले पुराना ऐनलाई प्रतिस्थापन गर्नेछन् ।