काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली स्थगन गरेको भन्दै यातायात व्यवसायीले आज (बुधवार) तत्कालका लागि आफ्ना सबै आन्दोलन फिर्ता लिएपछि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् ।
गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले विज्ञप्ति जारी गर्दै आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएका हुन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव ईन्जिनीयर कमलकुमार अधिकारीले राइड शेयरिङ नियमावली एक महिनाको लागि स्थगन गरिएको पुष्टी गरे ।
यससँगै सार्वजनिक यातायात चल्न थालेका छन् । सरकार र यातायात व्यवसायीबीच सोमवार राति अबेरसम्म भएको वार्तामा ६ बुँदे सहमति भएको थियो । सहमतिअनुसार गण्डकी सरकारले नियमावली स्थगन गरेपछि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको अडान थियो । त्यसैले मङ्गलवार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी सरकारसमक्ष नियमावली स्थगन गर्न आग्रह गरिएको थियो ।