चितवन । मत्स्य विकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा ३ करोड ६३ लाख १८ हजार माछाका भुरा विक्री गरेको छ । केन्द्रले यस वर्ष ६ करोड ५३ लाख माछाका भुरा विक्री गर्ने लक्ष्य राखेको भए पनि सो सङ्ख्यामा माछाका भुरा विक्री गर्न नसकेको जनाएको छ ।
केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार अहिलेसम्म ह्याचलिङ गरिएका (सातदिने) भुरा ३ करोड ११ लाख, एक महिनासम्मका (फ्राई साइज) का ४७ लाख ५० हजार, ५ देखि ८ ग्रामका (फिङ्गलिङ्क) २ लाख १५ हजार र पाङ्गास २ लाख ५३ हजार ४०७ गोटा विक्री गरिएको छ । खाने माछा १७ क्विन्टल ९८ किलो विक्री गरिएको छ । अहिलेसम्म २८ लाख ५० हजारको माछाका भुरा विक्री गरिएको उनले बताए ।
केन्द्रले यस आर्थिक वर्षमा ह्याचलिङ गरिएका (सात दिने) भुरा ६ करोड, एक महिनासम्मका (फ्राई साइज) का ५० लाख, ५ देखि ८ ग्रामका (फिङ्गलिङ्क) ५ लाख र पाङ्गास १ लाख गोटा विक्री गर्ने लक्ष्य राखेको छ । खाने माछा एक टन विक्री गर्ने लक्ष्य राखिएको दाहालले बताए ।
भण्डारामा रहेको सो केन्द्रले चितवनसहित २५ जिल्लामा माछाका भुरा पुर्याउँदै आएको छ । उनले भने, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा विक्री वितरण हुँदै आएको छ, त्यसकारण भुरा लैजान आउनेको सङ्ख्यामा कमी आएको छ ।”
बारा र पर्साबाट आउनुपर्ने माछापालक किसान अहिले सोचेअनुसार नआएको उनले बताए । चितवनमा मात्रै १० देखि १२ वटा निजी क्षेत्रले माछाका भुरा उत्पादन गरेर विक्री वितरण गर्ने गरेको जानकारी उनले दिए ।
निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ्, तनहुँ, कास्की, कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उनले बताए । अझै एक महिनाभन्दा बढी समय रहेकाले भुरा माछा लक्ष्यअनुसारको विक्री हुने अनुमान उनले गरे ।
केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खानयोग्य माछा उत्पादन गरेर विक्री गर्दै आएको छ । यहाँ बिगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भुरा उत्पादन गरिन्छ । माछाका भुरा वर्षभरि नै विक्री वितरण गरिने गरेको दाहालले बताए ।
उनले भने, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै विक्री वितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा विक्री वितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार विक्री वितरण गर्न थालेको हो । रासस