काठमाडौँ । देशमा तारको माध्यमबाट फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने कम्पनीहरूमध्ये सबैभन्दा धेरै बजार हिस्सा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडको रहेको छ भने दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ ।
तर वर्ल्डलिंक र नेपाल टेलिकमले गत वर्ष वैशाखको तुलनामा यस वर्ष वैशाखसम्म ग्राहक संख्या बढाए पनि केही बजार हिस्सा गुमाएका छन् । डिश मिडिया‚ सुबिसु केबलनेट र भायानेटले भने गत वर्ष वैशाखको तुलनामा यस वर्ष वैशाखमा उल्लेखनिय रुपमा ग्राहक थप्नुका साथै फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको बजारमा आफ्नो हिस्सा बढाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ वैशाखको प्रतिवेदनअनुसार यस वर्षको वैशाखसम्मको तथ्यांकका आधारमा वर्ल्डलिंक एक्लैले कुल बजारको करीब एक तिहाइ हिस्सा रहेको छ । वर्ल्डलिंकको बजार हिस्सा ३२ दशमलव शून्य ५ प्रतिशत रहेको छ । दोस्रोमा रहेको नेपाल टेलिकमको बजार हिस्सा ११ दशमलव २३ प्रतिशत रहेको छ । बजारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमभन्दा वर्ल्डलिंकको हिस्सा करीब ३ गुणा बढी हो । अर्को शब्दमा यो तथ्यांकका आधारमा नेपाल टेलिकम देशको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजारमा वर्ल्डलिंकभन्दा निकै पछि रहेको देखिन्छ भने तेस्रो स्थानको डिश मिडियाले टेलिकमलाई भेट्टाउन लागेको देखिन्छ ।
यसैगरी‚ बजार हिस्साका आधारमा तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क लिमिटेडको हिस्सा ११ दशमलव १९ प्रतिशत रहेको छ । यस आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमभन्दा डिश मिडिया शून्य दशमलव शून्य ४ प्रतिशतको झिनो अन्तरले मात्र पछाडि रहेको छ ।
चौथो स्थानमा रहेको सुबिसु केबलनेट लिमिटेडको बजार हिस्सा ९ दशमलव ९१ प्रतिशत रहेको छ भने पाँचौँ स्थानमा रहेको भायानेट कम्युनिकेशन लिमिटेडको बजार हिस्सा ७ दशमलव ८५ प्रतिशत रहेको छ ।
प्राधिकरणको प्रतिवेदनका आधारमा देशभरी फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटका कुल ग्राहक संख्या ३१ लाख ३२ हजार ३५० रहेको छ । यसमध्ये सबैभन्दा धेरै ग्राहक वर्ल्डलिंक कम्युनिकेशनसँग रहेका छन्। वर्ल्डलिंकसँग २०८२ वैशाखमा १० लाख ३ हजार ९४९ ग्राहक छन्। अर्थात करिब एक तिहाई ग्राहक वर्ल्डलिंक एक्लैसँग रहेका छन्।
त्यस्तै दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीसँग ३ लाख ५१ हजार ९१२ ग्राहक छन्। यसपछि डिश मिडियाको कुल ग्राहक संख्या ३ लाख ५० हजार ४०६ रहेको छ भने सुबिसुको ग्राहक संख्या ३ लाख १० हजार २९४ र भायानेटको ग्राहक संख्या २ लाख ४५ हजार ९४५ रहेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार २०८१ वैशाखमा पनि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये बजार हिस्सा र ग्राहक संख्याका आधारमा वर्ल्डलिंक नै सबैभन्दा अगाडि रहेको थियो । त्यसवेला पनि नेपाल टेलिकम दोस्रो‚ डिश मिडिया तेस्रो‚ सुबिसु चौथो र भायानेट पाँचौँ नम्बरमा रहेका थिए ।
तर त्यसवेला बजारको ३३ दशमलव १७ प्रतिशत हिस्सा रहेको वर्ल्डलिंकले यसवर्ष १ लाख २ हजारभन्दा बढी ग्राहक थपेको भए पनि २०८२ वैशाखसम्म १ दशमलव १२ प्रतिशत बजार हिस्सा गुमाएको छ ।
यसैगरी‚ यस वर्ष ५२ हजारभन्दा बढी ग्राहक थपेको नेपाल टेलिकमको बजार हिस्सा पनि गत वर्ष वैशाखमा भन्दा अहिले शून्य दशमलव शून्य १ प्रतिशतले घटेको छ ।
डिश मिडियाले गत वर्ष वैशाखभन्दा यसवर्ष वैशाखसम्म ५७ हजार ८ सयभन्दा बढी ग्राहक थपेसँगै उसले आफ्नो बजार हिस्सा शून्य दशमलव ४३ प्रतिशतले बढाएको छ । सुबिसु केबलनेटले गत वर्ष वैशाखभन्दा यस वर्ष वैशाखसम्म ६२ हजारभन्दा बढी ग्राहक थप्दै उल्लेखनिय रुपमा बजार हिस्सासमेत शून्य दशमलव ७८ प्रतिशतले बढाएको छ । भायानेटले गत वर्ष वैशाखदेखि यता यस वर्ष वैशाखसम्म ४२ हजार ५ सयभन्दा बढी ग्राहक थपेको छ भने शून्य दशमलव ३७ प्रतिशतले बजार हिस्सा पनि बढाएको छ ।
वैशाख २०८२ सम्मको तथ्यांकका आधारमा शीर्ष ५ फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायकहरूः
कम्पनी ग्राहक संख्या बजार हिस्सा (प्रतिशतमा)
वर्ल्डलिंक कम्युनिकेशन लि १००३९४९ ३२.०५
नेपाल दूरसञ्चार कम्पनी लि ३५१९१२ ११.२३
डिश मिडिया नेटवर्क लि ३५०४०६ ११.१९
सुबिसु केबलनेट लि ३१०२९४ ९.९१
भायानेट कम्युनिकेशन लि २४५९४५ ७.८५