काठमाडौं । बुधवार शेयर बजार परिसूचक नेप्से ९० दशमलव ७३ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ७३९ दशमलव ४६ अंकमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा ३ दशमलव २० प्रतिशतले घटेको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज १२ अर्ब ९२ करोडको कारोबार भएको छ । अघिल्लो दिन भने १३ अर्ब ५७ करोडको कारोबार भएको थियो ।
आज धितोपत्र दोस्रो बजारमा १ लाख ३७ हजार १६३ ओटा कारोबारबाट २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच भएका छन् ।
बुधवार शेयर बजारका १३ ओटै सूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ५.१५ प्रतिशत घटेको छ । त्यसपछि होटल तथा पर्यटनको ४.४७, जीवन बीमाको ३.७१, जलविद्युत्को ३.५९, लगानीको सूचक ३.५६ प्रतिशतले घटेको छ । म्युचुअल फण्डको सूचक भने सबैभन्दा कम १.३७ प्रतिशतले घटेको छ ।
आज एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, इस्टर्न हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यसैगरी, कुमारी इक्वीटी फण्डको इकाई मूल्य १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । कम्पनीको ३० करोड ५२ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा एक्सल डेभलपमेन्ट बैंक छ । कम्पनीले ३० करोड १५ लाखभन्दा बढी रुपैयाँको कारोबार गरेको छ ।