वीरगञ्ज । गत २०८१ असार १७ गते वीरगञ्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा आगलागी भयो । आगो निभाउन वीरगञ्ज महानगरपालिका, प्रहरी र भारतीय सीमावर्ती शहर रक्सौलबाट दमकल ल्याइए । तर, पहिलो तलामा लागेको आगो कसरी निभाउने भन्नेमा अग्निनियन्त्रकहरू अल्मलिए ।
भुइँतलामा लागेको आगो निभाउनेसम्मको काम गर्दै आएका अग्निनियन्त्रकले चारैतिरबाट भवनले घेरिएको बैंक भवनमा एक तलामाथि लागको आगो कसरी निभाउने भन्ने मेसो पाएनन् । आगो निभाउन आएका बारुणयन्त्रले एक घण्टाभन्दा बढी मुख्य सडकमा जाम लगाए । तर, आगो निभाउन सकेनन् ।
एक घण्टापछि सडक बत्ती जोड्न प्रयोग गरिने भर्याङको मद्दतबाट दमकलको पानी त्यहाँ फाल्ने उपाय फुर्यो । त्यतिबेलै आकाशबाट बर्सिएको पानीले पनि केही सहज बनायो । बारुणयन्त्र पुगेर पनि एक घण्टाभन्दा बढी अलमल हुँदा क्षति बढ्यो ।
२०७४ पुस ५ गते वीरगञ्ज महानगरकै पटेलनगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भयो । आगो निभाउन बारुणयन्त्र लिएर पुगेका महानगरका २ जना अग्निनियन्त्रकले त्यही आगोमा जलेर ज्यान गुमाए भने २ जना घाइते भए । पछि पत्ता लाग्यो– उद्योग परिसरमा ग्यास फैलिएको थियो । बारुणयन्त्रको साइलेन्सरबाट निस्किएको झिल्काले आगो समाउँदा कर्मचारी र दमकल दुवै जले ।
यी घटना वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा आगलागीका घटना र त्यसको नियन्त्रणको पूर्वतयारीका दयनीय अवस्थाका उदाहरण हुन् । सामान्यतः चैतदेखि जेठसम्म हावाहुरी र आगलागीका घटनाहरू बढ्ने जोखिम उच्च हुन्छ । पर्सामा यसको पूर्वतयारी भने अत्यन्तै फितलो देखिएको छ । तहगत सरकार र तिनका निकायहरूले यसमा आवश्यकताजति सतर्कता अपनाएको देखिन्न ।
वीरगञ्जमा विगत केही वर्षयता ठूला र अग्ला भवनहरू निर्माणको क्रम बढेको छ । अहिले बहुतले तारे होटल, निजीघर र अपार्टमेन्ट निर्माण भइरहेको छ । ती संरचना बनाउन महानगरले अनुमति दिएको हुन्छ । तर, त्यस्ता भवनमा आगलागी भइहालेमा उद्दार र त्यसलाई नियन्त्रणमा लिने पूर्वाधार र त्यसको तयारी रामभरोसामै चलेको छ ।
माथिल्ला तलामा आगलागी भएमा त्यहाँ फसेका मानिसलाई कसरी उद्दार गर्ने र आगलागी नियन्त्रणमा लिने उपायबारे न पालिकाले सोचेका छन्, न जिल्ला विपद् व्यवस्थापन समितिसँग यसको स्पष्ट योजना छ । यस्ता भवनमा आगलागी भएमा ठूलो जनधनको क्षतिको जोखिम छ ।
समितिका संयोजक रहेका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहिले सुक्खा मौसममा आगलागीका घटना बढ्ने भएकाले चाँडै नै समितिको बैठक बसी पूर्वतयारीमा जुट्ने बताउँछन् । अर्यालका अनुसार अहिले गहुँको खुटीमा आगो लगाउने समय भएकाले त्यसको आगो बस्तीमा लाग्ने जोखिम छ । जोखिमलाई ध्यानमा राखी बारुणयन्त्र, पानी भर्ने ठाउँको उचित प्रबन्ध, पालिकाहरूको विपद् व्यवस्थापन कोषको प्रभावकारी व्यवस्थापन लगायतमा ध्यान दिएर पूर्वतयारीमा जुट्ने अर्यालको भनाइ छ ।
वीरगञ्ज महानगरसित ३ ओटा दमकल छन् । तर, बहुतले भवनमा आगो लाग्दा निभाउने प्रविधि र पर्याप्त दक्ष जनशक्ति छैन । महानगरको विपद व्यवस्थापन समितिको बैठकमा हालैमात्र बारुणयन्त्रमा जडान गर्न सकिने भर्याङ खरीदबारे छलफल शुरू भएको छ । बजेटको अभावमा त्यस्तो भ¥याङ किन्न नसकेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले बताए । ‘त्यो भर्याङ भइदिए अहिले हामीसँग भएकै दमकलमा जडान गर्न सकिने रहेछ । तर, त्यसका लागि ६० लाख रुपैयाँ खर्च पर्ने देखियो । यत्रो रकम कसरी व्यवस्थापन गर्ने भन्नेमा विचार हुँदैछ,’ उनले भने ।
पर्सामा वीरगञ्ज महानगरसहित १४ ओटा पालिका छन् । तीमध्ये ४ ओटा पालिकामा मात्रै बारुणयन्त्र छन् । वीरगञ्ज महानगर, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाले बारुणयन्त्र किनेका छन् ।
जनप्रतिनिधिहरूको सवारी साधन, सुविधा र रुचीका योजनामा करोडौं खर्च भए पनि विपद् व्यवस्थापनजस्ता लोककल्याणका काममा पालिकाहरूले अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।
पालिकाले नियुक्त गरेका जनशक्ति दक्ष छैनन् । पर्याप्त तालिम र दक्षताको कमीकै कारण ७ वर्षअघि सुपर ग्यास उद्योगमा लागेको आगो निभाउन जाँदा वीरगञ्ज महानगरका २ जना कर्मचारीको ज्यान गएको थियो । घटनाको वर्षौ बितिसक्दा पनि महानगरले बारुणयन्त्रका कर्मचारीको दक्षता विकासमा अपेक्षित काम गर्न सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत कर्णले अहिले महानगरका ३ ओटा बारुणयन्त्र चलाउन ७ जना कर्मचारी भएको र चाँडै नै २० जना कर्मचारी भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए । बारुणयन्त्रमा नयाँ कर्मचारी भर्ना गरी केही नगर प्रहरीसमेतलाई अग्निनियन्त्रणको तालिम दिने योजना पनि उनले सुनाए ।