काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट पेश हुनुअघि ठूलो संख्यामा चिनियाँ विद्युतीय गाडी भित्रिएकोमा हाल भन्ने चीनबाट यस्ता गाडीको आयात लभभग ठप्प रहेको भन्सार कार्यालयहरूले बताएका छन् ।
- जेठ १५ गते बजेट आउनुअघि धमाधम भित्र्याइएका गाडी सस्तोमा बेच्ने तयारीमा आयातकर्ता
भन्सार दर बढ्ने आशंकामा सरकारले जेठ १५ गते बजेट पेश गर्नुअघि आयातकर्ताले ठूलो संख्यामा चारपांग्रे विद्युतीय गाडी (ईभी) भित्र्याएका थिए । तर, अनुमान गरिएझैं सरकारले बजेटका क्रममा भन्सार दर बढाएन । विगत हप्ता/दश दिनमा चीनबाट यस्ता गाडीको आयात शून्यप्रायः रहेको रसुवा र तातोपानी भन्सार कार्यालयका अधिकारीहरूले बताए । उनीहरूका अनुसार अहिले धेरैजसो लत्ताकपडा र फलफूल भित्रिरहेको छ । आयातकर्ताले विद्युतीय गाडी ल्याउन छाडेका छन् ।
रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलले आर्थिक अभियानसँग कुराकानी गर्दै बजेट आएको ५–७ दिनसम्म पनि चिनियाँ विद्युतीय गाडी भन्सार पासका लागि ल्याइएकोमा अहिले शून्य रहेको बताए । उनका अनुसार जेठ १५ पछिको १ हप्तासम्म करीब ५०० गाडी ल्याइएको थियो । त्यसपछिका दिनमा त्यस्ता गाडी भन्सार पासका लागि आयातकर्ताले ल्याएका छैनन् । ‘बजेटअघि र पछि ल्याइएका गरी अहिले भन्सार यार्डमा करीब ५०० गाडी छन्,’ उनले भने । ‘बजेटताका घोषणा गरिएका गाडीहरू विस्तारै लैजाने क्रम चलिरहेको छ ।’ उनका अनुसार आयातकर्ताले ठूलो संख्यामा गाडी पहिल्यै ल्याएको र माग नभएर अहिले ल्याउन बन्द भएको हुन सक्छ । भन्सारमा ल्याइएका कतिपय गाडी अहिले व्यापारीले भन्सार पास नगरी त्यत्तिकै राखेका छन् ।
तातोपानी भन्सार कार्यालयका अनुसार उक्त नाका हुँदै पनि अहिले विद्युतीय गाडी आएका छैनन् । तातोपानी भन्सार यार्डमा अहिले पनि पहिल्यै ल्याइएका गाडी छन् । अहिले थप गाडी ल्याउने क्रम रोकिएको तातोपानी भन्सारका एक उच्च अधिकारीले बताए ।
नयाँ बजेटले विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क यथावत् राखेको छ । अहिले ५० किलोवाटसम्मका ईभीमा भन्सार र अन्तःशुल्क गरेर १५ प्रतिशत कर कायम छ । ५१ देखि १०० किलोवाटसम्ममा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्छ । यस्तै १०१ देखि २०० किलोवाटसम्ममा भन्सार ३० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत, २०१ देखि ३०० किलोवाटसम्ममा भन्सार ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत तथा ३०० किलोवाटभन्दा माथिका ईभीमा ८० प्रतिशत भन्सार र अन्तःशुल्क ५० प्रतिशत छ । विद्युतीय गाडी आयात गर्ने कम्पनीले बजेटमा विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क बढ्ने अनुमान गरेर अस्वाभाविक रूपमा गाडी ल्याएका थिए ।
भन्सार विभागका अनुसार वैशाख–जेठमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको थियो । वैशाखमा मात्रै १४ सय विद्युतीय गाडी आयात भएको छ ।
भन्सार र अन्तःशुल्क बढ्ने अनुमान गरेर व्यवसायीले धेरै गाडी भित्र्याए पनि नयाँ बजेटले पुरानै व्यवस्था कायम राखेका कारण अब भन्सारमा थुप्रिएका गाडी बेच्न व्यवसायीबीच प्रतिस्पर्धा चल्न सक्ने देखिएको छ । गाडी बेच्न तीव्र प्रतिस्पर्धा हुँदा मूल्य केही घट्न सक्ने कतिपय गाडी विक्रेताहरू नै बताउँछन् । ‘लामो समय स्टक राख्दा घाटा हुन सक्ने भएकाले पनि छिटो गाडी विक्री गर्न प्रतिस्पर्धा हुने र पहिलेको तुलनामा मूल्य केही घट्न सक्ने सम्भावना छ,’ एक विक्रेताले बताए ।
ती विक्रेताका अनुसार धेरै गाडी आएकाले सस्तोमै बेच्नुपर्ने बाध्यता आइलाग्न सक्छ । मार्जिन एकदमै कम राखेर आफ्नो लागत उठाउने योजना ल्याउने तयारीमा गाडी विक्रेताहरू छन् । ‘छिट्टै योजनाहरू सार्वजनिक हुनेछन्,’ ती विक्रेताले भने । गाडी विक्रेताहरूको दुईओटा संस्था– नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाईमा) ले अगस्टमा अटो मेला आयोजना गर्दैछन् ।
सोही मेलामा धेरै गाडी विक्री गर्ने योजना गाडी आयातकर्ताले बनाइरहेको ती विक्रेताको भनाइ छ ।
‘अहिले धेरै गाडी विक्री हुन सकिरहेको छैन, तर अटो मेलामा गाडी सस्तिन सक्ने भएकाले मानिसले किन्ने आशा छ,’ उनले भने ।