काठमाडौं। चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलनमा केही सुधार देखिए पनि निर्धारित लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को ११ महीनामा सरकारले १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ९ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
जेठ महीनामा मात्रै राजस्व संकलन करीब ९ अर्बले बढेको छ । गत आर्थिक वर्षको जेठमा ८५ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको जेठमा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व उठेको छ ।
राजस्व संकलनमा वृद्धि भए पनि लक्ष्य भने पूरा हुन सकेको छैन । सरकारले चालू आर्थिक वर्षको जेठसम्ममा १२ खर्ब ३४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८३.२२ प्रतिशत मात्रै संकलन हुन सकेको छ ।
राजस्व संकलनमा देखिएको वृद्धिलाई सकारात्मक संकेत मानिए पनि लक्ष्य नजिक पुग्न नसक्नु सरकारका लागि चिन्ताको विषय बनेको छ ।