कात्तिक १२, न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी ‘इण्टरनेशनल विजनेश मशिन’ (आईबीएम)ले घरेलु सफ्टवेयर कम्पनी ‘रेड ह्याट इङ्क’ किनेको छ । कम्पनीले ३४ अर्ब डलरमा उक्त कम्पनी किनेको हो । पछिल्लो समय कम्पनी प्रविधि हार्डवेयर र परामर्श व्यवसायलाई उच्च मुनाफा भएको उत्पादन र सेवामा विविधिकृत गर्न खोजेको छ । सोही रणनीतिअनुरुप कम्पनीले कर्जा समेत गरेर रेड ह्याट किन्न ३४ अर्ब डलर खर्चेको हो । यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘एक्विजिशन’ हो ।
आईबीएमले रेड ह्याटको प्रतिकित्ता शेयरका लागि १ सय ९० डलर दिन लागेको हो । यो शुक्रवार बजार बन्द हुँदा कायम कम्पनीको शेयर मूल्यभन्दा ६३ प्रतिशत धेरै हो । सन् १९९३ मा स्थापित रेड ह्याट लिनक्स अपरेटिङ सिष्टममा दख्खल राख्छ । कम्पनीको वृद्धिलाई टेवा दिन पछिल्लो एक्विजिशन गरिएको आईबीएमकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिन्नी रोम्ट्टेले बताएकी छिन् ।
पछिल्लो समय विश्व बजारमा सफ्टवेयरको विक्री सुस्ताइरहेको छ र मेनफ्रेम सेवाको माग पनि घटिरहेको छ । यस्तोमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिन्नी रोम्ट्टेले आईबीएमको सब्सक्रिप्शनमा आधारित सफ्टवेयर सेवालाई विस्तार गर्ने प्रयास गरिरहेकी छिन् । एजेन्सी