काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस आर्थिक वर्षमा ८९ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो ।
यस आर्थिक वर्ष कम्पनीको कुल आम्दानी १०९ दशमलव ७८ प्रतिशत बढी ८ करोड ७८ लाख रुपैयाँ भएको छ भने कुल खर्च २०२ दशमलव ५२ प्रतिशत बढी ८ करोड ६४ लाख रुपैयाँ भएको छ ।
आम्दानी बढे पनि यो आर्थिक वर्ष खर्च बढी हुँदा कम्पनीको खुद नाफा घट्न पुगेको हो । यस आर्थिक वर्ष कम्पनीको वित्तीय खर्च १० लाख ७१ हजार रुपैयाँ भएको छ । गत वर्ष यो खर्च रहेको थिएन ।
तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ भने १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।
कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८१ मंसिर ९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ७५ करोड चुक्तापूँजी कायम गर्न कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २ लाख १६ हजार रुपैयाँ र अदर इक्वीटी ४३ लाख ५४ हजार रुपैयाँ छ । यो अवधिसम्म कम्पनीले ५७ करोड १० लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ ।