अहिलेको सबैभन्दा धेरै अवसर रहेको आईटी क्षेत्रमा काम गर्न पनि प्रमाणपत्र भन्दा अनुभव र क्षमतालाई बढी महत्व दिइन्छ । आईटी फिल्डै पढेर आउनेहरूको हकमा ब्याचलर गरेको भए पुग्छ । मास्टर्स डिग्री गरेको भनेर ठूलो पद र धेरै पैसा पाउने हुँदैन । आईटी कम्पनीहरूमा सबैभन्दा ठूला पदहरू म्यानेजर, अफिसर बन्न पनि ब्याचलर पास भएको भए पुग्छ ।
तर पनि मास्टर्स गर्ने चलन भने छ । त्यसले गर्नुपर्ने कामको समस्या पत्ता लगाउन तथा समाधान गर्न पनि केही थप ज्ञान त दिन्छ । तर, त्यो ज्ञान ब्याचलर गरेर केही वर्ष काम गर्नेले पनि पाइहाल्छ । त्यसैले, यो क्षेत्रमा मास्टर्स डिग्री काममा भन्दा बढी साथीहरूको माझमा समान हैसियतको देखिन उपयोग हुन्छ ।
जस्तै– म्यानेजर बन्न ब्याचलर भए पुग्छ । अनि आफू ब्याचलर गरेर म्यानेजर बनेको छ र अर्को चाहिँ मास्टर्स गरेको म्यानेजर छ भने आफू केही तल परेको महसूस हुने कारण मास्टर्स गर्ने पनि हुन्छन् ।
सकेसम्म आईटीमै ब्याचलर गरेको भए उसले गर्नुपर्ने कामको सैद्धान्तिक पक्ष पनि राम्ररी बुझेको हुन्छ । खासमा भन्ने हो भने त आईटी क्षेत्रमा काम गर्न आईटी नै पढेको हुनुपर्छ भन्ने पनि छैन । कम्प्युटर सम्बन्धी कुनै पनि विषय पढेकाले पनि आफ्नो रुचि र लगनशीलताले आईटीमा राम्रो काम गरेका छन् । त्यति मात्रै होइन, मानविकी पढेकाले पनि यो क्षेत्रमा काम गर्न सक्छन् । किनकि मानविकी पढेकाहरूमा कुनै पनि विषयवस्तुलाई फराकिलो दृष्टिले हेर्ने र विश्लेषण गर्ने क्षमता हुन्छ । यो क्षमता भएको कोही आईटीको शीप हासिल गरेर आयो भने त उसले धेरै राम्रो गर्न सक्छ ।