काठमाडौं । २०७२ असोज ३ गते जारी भएको नयाँ संविधान कार्यान्वयनका लागि बिहीवार दोस्रो चरणअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुँदै छ । पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्लामा निर्वाचन भएको थियो भने बिहीवार बाँकी ४५ जिल्लामा निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचन तीन चरण गरी यसअघि नै सम्पन्न भएकाले बिहीवारको निर्वाचन सम्पन्न भएसँगै देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै देश आर्थिक समृद्धिका लागि आवश्यक स्थायित्वको मार्गमा अगाडि बढ्ने भएकाले यसलाई अन्य आम निर्वाचनको तुलनामा ऐतिहासिक र महत्त्वपूर्ण निर्वाचनका रूपमा लिइएको छ । नेपालको इतिहासमा एकै वर्ष स्थानीय तह, प्रतिनिधिसभा र पहिलोपटक प्रदेशसभाको निर्वाचन भएको यो नै पहिलोपटक हो । बिहीवार प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको छ । प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बिहीवारको चुनावबाट प्रदेश र प्रतिनिधिसभा गरी ४ हजार ४ सय ८२ जना उम्मेदवारबाट जम्मा ३ सय ८४ सांसद चुनिएर आउनेछन् । १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले ७ हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्न पाउनेछन् । यो निर्वाचनले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घमा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० सांसद चयन गर्नेछ । उनीहरूले केन्द्रीय र प्रदेश सरकार गठन गर्ने छन् । ढुक्कसाथ मतदान गर्नुस् : आयोग दोस्रो चरणको सङ्घ तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले सबैमा आग्रह गरेको छ । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएकाले मतदानमा निर्भीकताका साथ सहभागी हुन आग्रह गरे । निर्वाचन बिहीवार बिहान ७ : ०० देखि ५ : ०० बजेसम्म हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘यस निर्वाचनबाट संविधान कार्यान्वयनमा गई सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ । त्यसैले यो निर्वाचन अन्य निर्वाचनभन्दा महŒवपूर्ण छ ।’ जनताको मत लोकतन्त्रको आधार भएकाले मतदातालाई स्वतन्त्र र विवेकपूर्णरूपमा मतदान गर्न उनले आग्रह गरेका छन् । पहिलो चरणको निर्वाचनमा करीब ६५ प्रतिशत मत खसेकोमा बिहीवार ७५ प्रतिशतभन्दा बढी मतदान हुने यादवको दाबी छ । मतदानमा सरकारी कागजपत्र पनि मान्य निर्वाचन आयोगले मतदाताका लागि उपलब्ध गराएको मतदाता परिचयपत्र नभएमा मतदाता नामावलीमा नाम भएका सबैले नागरिकता वा अन्य फोटोसहितको सरकारी कागजपत्र देखाएर पनि मतदान गर्न पाउने बताएको छ । मतदाताको मताधिकारलाई सुनिश्चित गर्दै आयोगले जुन मतदान केन्द्रमा नाम छ सोही केन्द्रबाट मतदान गर्न पाउने गरि वैकल्पिक व्यवस्था गरिएको बताएको हो । आचारसंहिता पालना गर्न आग्रह आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै आयोगले मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । मौन अवधि र विजयोत्सव मनाउने समयसम्म पनि निर्वाचन आचासंहिताअनुसार चल्न आयोगले आग्रह गरेको हो । मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षित रूपमा पुर्याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न पनि आयोगले आग्रह गरेको छ । सुरक्षा व्यवस्था सुदृढ निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले बुधवार आम मतदातालाई सार्वजनिक रूपमा अपील गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न आह्वान गरेका हुन् । ‘स्थानीय, प्रादेशिक र सङ्घीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक सङ्क्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास छ,’ उनले भने । निर्वाचनका लागि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी सम्मिलित सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयले पनि मतदातालाई आग्रह गरेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानले पनि बुधवार एक कार्यक्रममा निर्वाचन बिथोल्न खोज्नेहरूमाथि नेपाली सेनालाई गोली हान्ने अधिकार दिइएको भन्दै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताका लागि भरपर्दो सुरक्षा प्रबन्ध गरेको दाबी गरेका छन् । उनले अहिलेसम्म निर्वाचनविरोधी गतिविधि गर्ने ६ सयभन्दा बढीलाई पक्राउ गरिएको पनि बताए । यता, नेपाल प्रहरीले पनि पत्रकार सम्मेलन गरी चुनावका लागि सबै सुरक्षा व्यवस्था चुस्त पारिएको बताएको छ । निर्वाचन सुरक्षाका लागि सादा पोशाकका प्रहरीदेखि तालीमप्राप्त कुकुरको समेत परिचालन गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानले बताए । सुरक्षाका लागि केन्द्र र हरेक प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको उनले बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.