काठमाडौं । मुलुकमा आर्थिक रूपमा सक्रिय जनसंख्या ६५ दशमलव ६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । उत्पादन र सेवामूलक क्षेत्रमा काम गरी आयआर्जन गर्नेको जनसंख्या २ करोड ३९ लाख ७८९ जना रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । कार्यालयले आइतवार ‘राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनहरू’ सार्वजनिक गर्दै ३४ दशमलव ४ प्रतिशत मानिस अझै पनि आर्थिक रूपमा निष्क्रिय रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार केही गर्दै नगर्ने बूढाबूढी, केटाकेटी र विद्यार्थी आर्थिक रूपले निष्क्रिय हुन् ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकृत डा. हेमराज रेग्मीले अहिलेको तथ्यांकमा पनि घरभित्रको काम गर्ने बालबालिकादेखि बूढाबूढीको हेरचाह गर्ने, खाना बनाउनेदेखि सरसफाइ गर्नेसम्मका काममा संलग्नलाई आर्थिक रूपमा सक्रिय जनसंख्यामा गणना नगरिएको बताए । ‘उत्पादन र सेवामूलक काममा कारोबार भएको पाइन्छ । अहिले पनि घरभित्रको कामलाई आर्थिक रूपमा सक्रिय जनसंख्याका रूपमा गणना गरिएको छैन,’ रेग्मीले भने, ‘आफ्नो र परिवारका लागि गरेको काम यसमा जोडिँदैन ।’
आर्थिक क्रियाकलापहरूलाई कसरी वर्गीकरण गर्ने भन्ने विषय ‘सिस्टम अफ नेसनल अकाउन्ट’ले तय गरेको हुन्छ । यसअनुसार कुनै पनि वस्तुको उत्पादनमा संलग्न भयो भने त्यसलाई काम भनिन्छ । सेवाको हकमा भने संलग्न हुँदैमा काम हुँदैन । सेवामा कारोबार भएको हुनुपर्छ । भाँडा माझ्न, बालबालिकाको हेरचाहबापत पैसा लियो भने त्यो काम भयो । लिएन भने काम भएन । सेवाको हकमा भने कारोबार भएको हुनुपर्छ । धान, बिस्कुट, साबुनजस्ता वस्तुको हकमा उत्पादनमा संलग्न हुने प्रक्रियालाई काम मानिएको छ ।
कार्यालयका अनुसार आर्थिक रूपमा सक्रिय जनसंख्यामा पुरूषकै संख्या धेरै छ । आर्थिक रूपमा सक्रिय पुरूषको संख्या ७१ दशमलव ३ प्रतिशत हुँदा महिला संख्या ६० दशमलव ४ प्रतिशत छ । कार्यालयले सिंगो मुलुक र त्यसभित्र शहरी महानगरपालिका, ग्रामीण भेगका गाउँपालिकाका साथै हिमाल, तराई, पहाड र प्रदेशगत रूपमा आर्थिक रूपमा सक्रिय जनसंख्याको अवस्था पनि सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार शहरी महानगरपालिकाको जनसंख्याभन्दा ग्रामीण गाउँपालिकामा रहेको जनसंख्या आर्थिक रूपमा सक्रिय रहेको देखिएको छ । शहरी नगरपालिकाहरूमा ६३ दशमलव २ प्रतिशत मानिस आर्थिक रूपमा सक्रिय देखिएका छन् भने ग्रामीण तहका गाउँपालिकामा ७० दशमलव ६ प्रतिशतसम्म मानिस आर्थिक रूपमा सक्रिय रहेको देखिएको छ । यो वर्गीकरणभित्र पनि आर्थिक रूपमा सक्रिय महिलाको संख्या कम छ ।
तराई क्षेत्रका मानिसमा आर्थिक रूपमा सक्रियता कम देखिएको छ । हिमाली भेगका मानिसमा आर्थिक रूपमा सक्रियता बढी देखिएको छ । हिमाली भेगमा ७४ दशमलव ३, पहाडी क्षेत्रका ६८ दशमलव ४ र तराई क्षेत्रका ६२ दशमलव ५ प्रतिशत मानिस आर्थिक रूपमा सक्रिय रहेको तथ्यांकले देखाएको छ ।
प्रदेशमा भने कर्णालीका मानिस आर्थिक रूपमा बढी सक्रिय छन् । मधेश प्रदेशमा यस्तो जनसंख्या सबैभन्दा कम छ । त्यसपछि आर्थिक रूपमा सक्रिय जनसंख्या कम रहेको प्रदेशमा बागमती पर्छ । बागमतीका ६४ दशमलव ८ प्रतिशत मानिस आर्थिक रूपमा सक्रिय छन् । कोशी, कर्णाली र सुदूरपश्चिमका मानिसहरू अन्य प्रदेशको तुलनामा बढी सक्रिय देखिएका छन् ।