दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा सम्झौता भएको छ ।
गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजित एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्त्वपूर्ण अवसरमा गरिएको सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रतिवद्धता समेत व्यक्त गरे ।
मन्त्री भण्डारीका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा सञ्चालन भइरहेका जलविद्युत लगायतका क्षेत्रमा भएका लगानी तथा कार्यहरूको स्मरण गर्दै सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पासँगको सहकार्यमा सगरमाथाको सफल आरोहण गरेको उदाहरण दिँदै उनले कोरिया र नेपाल एकअर्काको सहयात्री बन्नुपर्ने धारणा राखे ।
नेपाल र गणतन्त्र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक लगानीको वातावरण र अवसरहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारबारे प्रस्तुतीकरण गरेका थिए ।
कोरिया–नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, सिओलस्थित नेपाली राजदूतावासका साथै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहित करीब ३० जना उद्योगी व्यवसायीहरूको सहभागिता रहेको भ्रमण टोलीमा सहभागी उद्योगमन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले बताए ।