काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ५ महीनामा नेपालले २० अर्ब ७७ करोड ७३ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । नेपालले लगानी भित्त्याउन खुला गरेका विभिन्न ८ क्षेत्रमध्ये ६ ओटा क्षेत्र उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन, सेवामूलक, पूर्वाधार र सूचना प्रविधि (आइसीटी)का कुल ३१९ ओटा परियोजनाका लागि नेपालले उक्त रकमको लगानी प्रतिबद्धता प्राप्त गरेको हो ।
उद्योग विभागले सार्वजनिक गरेको विदेशी लगानी प्रतिबद्धतासम्बन्धी विवरणअनुसार सबैभन्दा धेरै परियोजना र रकम पर्यटन सम्बन्धी परियोजनामा रहेको छ । चालू आर्थिक वर्षको मङ्सिरसम्ममा नेपालले पर्यटनका परियोजनाबाट १२ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त गरेको छ । साउनदेखि मङ्सिरसम्ममा पर्यटनका १४५ ओटा परियोजना स्वीकृत हुँदा उक्त रकमको प्रतिबद्धता विभागले प्राप्त गरेको हो ।
विभागको तथ्यांकअनुसार पर्यटनपछि परियोजनाको संख्या सूचना तथा प्रविधिमूलक (१०६)मा भए पनि रकम भने सेवामूलक क्षेत्रका उद्योगमा आएको छ । सेवामूलक उद्योगका परियोजनाको संख्या ४० हुँदा लगानीको प्रतिबद्धता ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ छ । सूचना प्रविधिमूलकमा भने १०६ संख्या परियोजनामा ६७ करोड ८७ लाख रुपैयाँको लगानी प्रतिबद्धता नेपालले प्राप्त गरेको छ ।
यसैगरी विभागले यो संख्या र रकम प्रतिबद्धता दुवै माध्यमबाट साविककै प्रणाली र स्वचालित मार्गबाट आएको जानकारी गराएको छ । चालू आर्थिक वर्षको ५ महीनामा स्वचालित मार्गबाट मात्रै २ अर्ब १३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसबाहेक १८ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता भने साविककै प्रणालीबाट आएको छ ।
यसैगरी मङ्सिर महीनामा मात्रै भने कुल ५६ ओटा परियोजना स्वीकृत भएका छन् । यसमध्ये विभागले साविकको प्रणालीबाट २७ ओटा र स्वचालित मार्गबाट २९ ओटा परियोजना स्वीकृत गरेको छ । मङ्सिर महीनामा मात्रै विभागले यी परियोजनाका लागि २ अर्ब ११ करोड २२ लाख रुपैयाँ लगानी प्राप्त गरेको छ ।
सबैभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता सधैंजस्तै पर्यटन, सेवामूलक र सूचना प्रविधिमा आउने क्रमले निरन्तरता पाएको छ । अधिकतम ६ अर्ब रुपैयाँसम्मको लगानी प्रतिबद्धता स्वीकार गर्ने विभागले यो वर्षको ५ महीनासम्ममा पनि ऊर्जा र खनिज क्षेत्रमा कुनै पनि लगानी प्रतिबद्धता प्राप्त गर्न नसकेको देखिएको छ । यस्तै पूर्वाधार विधामा भने ५ महीनामा एउटा मात्र परियोजना स्वीकृत भएको छ । उक्त परियोजना स्वीकृत हुँदा २ करोड रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।