काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरूको बारेमा छलफल गरी समाधानमा उपाय पहिल्याउनका लागि काठमाडौंमा प्रादेशिक अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।
सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघको आयोजनामा मंगलवार बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रम हुन लागेको हो ।
सहकारी क्षेत्रको समस्या र समाधानको उपाय पहिल्याउनका लागि सबै प्रदेशमा गोष्ठी गर्न लागिएको र त्यसको शुरुआत बढी संस्था र समस्या देखिएको वागमती प्रदेशबाट गर्न लागिएको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने यस कार्यक्रममा सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने उनको भनाइ छ ।
पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर डा. युवराज खतिवडा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विशेष सम्बोधन गर्नेछन् ।
यसैगरी संघीय सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले ‘सहकारी सुशासन प्रवर्द्धन : सरोकारवाला निकायहरूको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा सहकारीका वर्तमान समस्या र समाधानका उपायहरूमाथि केन्द्रित प्यानल छलफल हुने महासंघले जनाएको छ । जसमा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राजन पोखरेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकालको सहभागिता रहनेछ ।
देशभरका सहकारी संस्थाहरूको संख्यामध्ये ३५ प्रतिशत हिस्सा बाग्मतीमा छ । २७ लाखभन्दा बढी सहकारी सदस्य बागमती प्रदेशमा छन् । कुल शेयर पुँजीको ५४.६४ प्रतिशत, बचतको ४५ प्रतिशत र कर्जा पोर्टफोलियोको ४६ प्रतिशत बागमती प्रदेशका सहकारी संस्थाहरूले ओगटेका छन् ।