काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । मंसिर २८ गते फेवा ताल परिसरमा एक कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।
लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले फेवातालमा डुंङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेट सहयोग गरेकोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रति धन्यवाद व्यक्त गरेका थिए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतप्रसाईले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको बताए । 'लाइफ इन्स्योरेन्स भनेकै मानिसको जीवनको आर्थिक जोखिम बहन गर्नु हो, लाइफ ज्याकेटको काम पनि जीवनको रक्षा गर्नु नै हो । त्यसैले इन्स्योरेन्स कम्पनीले जीवनका यस्ता ढुक ढुक हुने पलहरुलाई ढुक्क बनाउन सधै तत्पर रहनेछ,' उनले भने ।
संगठनका अध्यक्ष गिरीले फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जिर्णहुँदै गएको सन्दर्भमा इन्स्योरेन्सले स्वीकार गरी सहयोग गर्नु आफैंमा गर्वको विषय बताए । डुंङ्गा सवारमा प्रयोग हुने लाइफ ज्याकेटले मानिसको जीवन रक्षामा ठूलो महत्व राख्ने र भविष्यमा हुनसक्ने कुनै पनि दुर्घटनालाई न्यूनिकरण गर्ने जिकिर गरे ।
इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, इन्स्योरेन्सका नायब महाप्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारी, अभिकर्ताको साथै सर्वसाधारणको कार्यक्रमा उपस्थिति थियो । यस इन्स्योरेन्सले समाजसँग प्रत्यक्ष जोडिएर सामाजिक कार्यमा निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ ।