काठमाडौं । रूपन्देहीको सुद्धोधन–४ मा स्थित श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लि.को दोस्रो वार्षिक साधारण सभा आइतवार बुटवलमा सम्पन्न भएको छ ।
सभाले कम्पनीका संस्थापक सतिस चन्द श्रेष्ठ, मौसुमी श्रेष्ठ, कमल प्रसाद नेपाल, पोषक राज पौड्याल र राम कृष्ण खतिवडालाई सञ्चालक चयन गरेको छ । यस्तै, सभाले स्वतन्त्र सन्चालकमा अमर बहादुर थिंगलाई अनुमोदन गरेको छ ।
साथै सभाले कम्पनीका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, कम्पनीको कुल चुक्तापूँजीको १० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा कम्पनीसँग साझेदारी गर्ने उत्कृष्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था र कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
सभाले निर्वाचित नयाँ सञ्चालकहरूलाई निर्वाचन समितिका संयोजक एवं अधिवक्ता विश्वास आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । साधारण सभापछि बसेको कम्पनी सञ्चालक समितिको बैठकले सतिस चन्द श्रेष्ठलाई कम्पनीको अध्यक्षमा चयन गरेको छ ।
कार्यक्रममा रूपन्देहीको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष गोपाल पौड्याल, कम्पनीका शेयरधनी तथा पूर्वराजदूत दुर्गेश मान सिंह, शेयरधनी तथा समाजसेवी गजेन्द्र ब. श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वाडे श्रेष्ठ लगायतको उपस्थिति थियो ।