काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८ रन बनाए ।
यस्तै सैफ जैबले ११, विनोद भण्डारी र आरिफ सेखले समान ४ रन बनाउँदा ब्राण्डोन म्याकमुलेनले तीन रन जोडे । सुदूरपश्चिमले अतिरिक्त ७ रन प्राप्त गर्यो । बलिङतर्फ कर्णालीको लागि कप्तान सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान १ विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाएको थियो ।
कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन् । विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११ रन बनाए ।
यस्तै, कर्णालीको लागि देव खनालले ७, अर्जुन घर्तीले अविजित रहँदै ३ र गुलसन झाले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ८ रन प्राप्त गर्यो ।
बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुईरदुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारेका थिए ।
प्लेअफको समीकरण पूरा
एनपीएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो ।
काठमाडौं गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।
एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ । रासस