काठमाडौं । द बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन)ले पीएचडी चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (पीएचडीसीसीआई)को भारत–नेपाल केन्द्रसँगको सहकार्यमा आगामी बुधवार काठमाडौंमा नेपाल बीएफएसआई समिट २०२४ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
'जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि दिगो वित्तपोषणको गहनता' भन्ने मूल नाराका साथ यस वर्षको शिखर सम्मेलनमा नीति निर्माता र वित्तीय विशेषज्ञहरूले बीएफएसआई (बैंकिङ, वित्तीय सेवा र बीमा) क्षेत्रभित्र दिगोपनलाई बढावा दिन र जलवायु जोखिमलाई सम्बोधन गर्न नवीन रणनीतिहरूबारे छलफल गर्नेछन् ।
कार्यक्रमको उद्घाटन समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहने छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी, अर्थसचिव डा. रामप्रसाद घिमिरे, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि अष्ट्रेलियाका राजदूत लीन जोन्स्टन अतिथिका रुपमा रहनेछन् ।
कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल हुनेछ । छलफलले वित्तीय क्षेत्रको दिगोपनलाई बढावा दिन, क्षेत्रीय सहयोगलाई बढावा दिन र जलवायु जोखिमको लागि नेपालको लचिलोपन बढाउनको लागि कार्ययोग्य रणनीति र सर्वोत्तम अभ्यासहरू उजागर गर्ने बताइएको छ।
नेपाल बीएफएसआई शिखर सम्मेलन २०२४ ले जलवायु वित्त, नियामक नवप्रवर्तन र हरित लगानीका अवसरहरू जस्ता महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्दै दिगो विकास हासिल गर्न बीएफएसआई क्षेत्रको भूमिकालाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।