काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को अध्यक्षमा सन्तोष कोइराला चयन भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उनी संघको वर्तमान उपाध्यक्ष हुन् ।
प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएपछि कोइराला सर्वसम्मत अध्यक्ष भएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । यसको औपचारिक घोषणा भने बुधबार हुने संघको निर्वाचन सहितको साधारणभाबाट हुनेछ ।
सुनिल केसीको कार्यकाल सकिएपछि अध्यक्षमा कोइराला र शेरचनको दाबी परेको थियो । पूर्वअध्यक्षहरूले दुवै उम्मेदवारसँग सहमति गरी कोइरालालाई सर्वसम्मत अध्यक्ष बनाएका हुन् ।
कोइराला अध्यक्ष भएपछि खाली हुने उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी सर्वसम्मत भएका छन् ।
यसैगरी खाली रहेको तीन जना सदस्य पदमा पनि एभरेष्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेय सर्वसम्मत भएका छन् ।