काठमाडौं। अघिल्लो महीनाको तुलनामा गत मङ्सिरमा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ । गत कात्तिकमा घरजग्गाको कारोबारबाट रू. दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजस्व संकलन भएकोमा मङ्सिरमा रू. तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ बराबर संकलन भएको हो ।
मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रू. ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजस्व र गोटीखेलले पाँच लाख ८७ हजार ५ सय ५४ राजस्व संकलन गरेको छ ।
काठमाडौं उपत्यकामा नौ ओटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलंकीले रू. २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले रू. २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले रू. सात करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले रू. सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले रू. सात करोड १२ लाख ४५ हजार सात सय ६५, डिल्लीबजारले रू. १९ करोड ९६ लाख ७५ हजार ५ सय ४३ र भक्तपुरले रू. २२ करोड २७ लाख ९० हजार ५ सय ७१ राजस्व संकलन गरेको छ ।
यसैगरी मालपोत कार्यालय विराटनगरले रू. १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले रू. ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजस्व संकलन गरेको छ ।
विभागमा अनुसार मङ्सिरमा सेवा कर रू. २६ करोड ६ लाख २५ हजार ६ सय ९० र रजिष्टे्रशन दस्तुर रू. दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन भएको छ । त्यस्तै, रू. एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पूँजीगत लाभकर संकलन भएको विभागको तथ्यांक छ ।