काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । पहिलो चरणमा ४० प्रतिशत आईपीओ योग्य संस्थागत लगानीकर्तामा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा ६० प्रतिशत आईपीओ सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो ।
मङ्सिर १८ गते प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणमा ३६ लाख कित्ता आईपीओ विक्रीका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको १५ दिनभित्रै पुस ३ गते कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति पाएको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।
कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा प्रतिकित्ता ४०१ का दरले विक्री गरिसकिएको छ । योग्य संस्थागतभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओ खरीद गर्न पाउने भएका हुन् ।
दोस्रो चरणमा विक्री हुने कुल कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । बुक विल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनमा आएको आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम ५० कित्ता खरीद माग गर्नुपर्नेछ । आईपीओ बाँडफाँटमा समेत यो विधिबाट न्यूनतम ५० कित्ताका दरले बाँडफाँट हुनेछ । बुक विल्डिङ विधिबाहेकका आईपीओ खरीदका लागि भने न्यूनतम १० कित्ताको नीति लागू छ ।
यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।