काठमाडौं । नेपालमा अहिले फेसबूक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रयोग नगर्नेहरू बिरलै छन् । अधिकांश विद्यार्थीसमेत सामाजिक सञ्जाल प्रयोग गर्छन् । यसले तिनको उपयोगिताको सीमा पनि बढिरहेको छ । हरेक मानिसले आफ्नो कार्यक्षत्रेमा यसको उपयोगिता बढाउँदै लगेको छ । यसकारण विभिन्न पेशा–व्यवसायमा संलग्नहरूका लागि सामाजिक सञ्जाल अति सहयोगी माध्यम भएको छ । सामाजिक सञ्जाल शैक्षिक क्षेत्रमा पनि उत्तिकै प्रभावकारी हुन्छ । सम्बन्धित विषय शिक्षकले यसको प्रयोगमार्फत विद्यार्थीलाई धेरै सहयोग गर्न सक्छन् । तर, कतिपय विद्यालयमा यसको प्रयोग निषेध गरिएको पाइन्छ । सामाजिक सञ्जालको प्रयोगबाट शिक्षकले नवीन जानकारी हासिल गर्न सक्छन्, जुन अध्यापनमा विशेष सहयोगी हुन्छ । साथै, यसबाट विद्यार्थी र शिक्षकबीच प्रत्यक्ष सम्पर्क हुने भएकाले शिक्षण–सिकाइमा पनि फाइदा पुग्छ । शिक्षकले सामाजिक सञ्जालको उपयोग कसरी गर्न सक्छन् त ? यसबारे यहाँ चर्चा गरिएको छ :
विद्यार्थी सम्मिलित फ्रेण्डलिष्ट बनाउने
यदि तपाईं शिक्षक हुनुहुन्छ भने आफ्नो सामाजिक सञ्जाल फेसबूकको एकाउण्टमा साथीहरूको समूह वा सूची (फ्रेण्डलिष्ट) बनाउन सक्नुहुन्छ । आफ्नो विषय अध्ययन गर्ने विद्यार्थीको छट्टै समूह पनि बनाउन सकिन्छ । त्यस समूहमा आगामी विद्यार्थीलाई पनि समावेश गर्न सकिने हुनुपर्छ । विद्यार्थीको समूह बनाउँदा ‘प्राइभेसी सेटिङ’मा गएर त्यस समूहमा रहेका विद्यार्थीले तपाईंको एकाउण्टमा के–के हेर्न सक्छन् भन्ने निश्चित पनि गर्न सकिन्छ । उदाहरणका लागि, विद्यार्थीले तपाईंको वालमा सामान्य ‘इन्फर्मेशन’ हेर्न मिल्ने, तर तपाईंले ट्याग गरेका व्यक्तिगत फोटो तथा वालमा पोष्ट गरेका सामग्री भने हेर्न नमिल्ने बनाउन सकिन्छ ।
ग्रूप च्याटिङबाटै अध्यापन
आफूले पढाउने विषय, अनुसन्धान वा छलफलसहितको सामग्री प्रभावकारी रूपमा प्रस्तुत बढाउन फेसबूक ग्रूप बनाउन सकिन्छ । त्यस ग्रूपमा आफ्ना विद्यार्थीलाई आबद्ध गराउनुपर्छ । उक्त समूहमा सोही विषयमा अध्यापन गराउने अन्य विशेषज्ञ र शिक्षकलाई पनि सहभागी गराएर विद्यार्थीलाई अन्तरक्रिया र प्रश्नोत्तर गर्नेे वातावरण सृजना गर्न सकिन्छ । विद्यालयबाहिर रहँदा पनि विद्यार्थीलाई एक–अर्काबीच पाठ्यवस्तुमा छलफल गर्ने माध्यमको रूपमा यसलाई प्रयोग गर्नु फलदायी हुन्छ ।
अनलाइनका सामग्री शेयरिङ
तपाईंले पढाइरहनु भएको विषयबारे विभिन्न सञ्चारमाध्यमबाट महŒवपूर्ण सामग्री प्रकाशित हुन सक्छन् । त्यो विद्यार्थीहरूका लागि पनि उपयोगी हुन्छन् । तसर्थ, त्यस्ता सामग्री आफ्नो वाल तथा आफूले बनाएको फ्रेण्डलिष्टमा शेयर गर्नुहोस् । ग्रूपभित्र रहेका विद्यार्थीलाई पनि त्यस्ता सामग्री शेयर गर्न अनुरोध गर्न सकिन्छ । सम्बद्ध विषयका समाचार, भिडियो र रोचक सामग्री विद्यार्थीका लागि सिकाइका राम्रा माध्यम बन्न सक्छन् ।
अनलाइन सुरक्षाबारे सचेतना
आफ्ना विद्यार्थीलाई सुरक्षित रूपमा अनलाइनको उपयोग गर्ने तरीकाबारे सिकाउनु जरुरी छ । जस्तै– आफ्नो एकाउण्टमा प्रयोग भएको ‘पासवर्ड’को गोप्यता किन आवश्यक छ, अपरिचित तथा गलत एकाउण्टबाट किन जोगिनुपर्छ भन्नेबारे सचेत गराउनुपर्छ । विद्यार्थीलाई अनलाइन सामग्रीको गतल उपयोगको शिकार हुनबाट जोगाउनु तपाईंको दायित्व पनि हो ।
सञ्जालमा उपलब्ध उपयोगी स्रोतको प्रयोग
सामाजिक सञ्जालले तपाईंलाई सिकाइको उपयोगी स्रोत उपलब्ध गराउन सक्छ । उदाहरणका लागि, फेसबूकमा ‘फेसबूक इन एडुकेशन’ नामक पेज उपलब्ध छ । त्यहाँ गएर ‘सेफ्टी एडभाइस फर टीचर’मा क्लिक गरेमा त्यहाँ तपाईंका लागि चाहिने थुप्रै सल्लाह–सुझाव पाउन सकिन्छ ।
विद्यार्थीको प्रत्यक्ष प्रतिक्रिया
विद्यार्थीले दिने प्रतिक्रिया शिक्षणका लागि धेरै उपयोगी हुन सक्छ । त्यसैले, आफूले राखेका सामग्रीबारे कुनै रचनात्मक सुझाव, सल्लाह वा विचार भए व्यक्त गर्न विद्यार्थीलाई प्रोत्साहन गर्न सकिन्छ । त्यस्तै, विद्यार्थीको केही सुझाव वा जिज्ञासाको उत्तर दिनुपरेमा आफू तत्कालै तयारसमेत हुनुपर्छ । त्यसले तपाईंको कक्षाकोठा तथा बाहिरी समयमा पनि विद्यार्थीसँग सुसम्बन्ध कायम गर्न मद्दत पुग्छ ।
सामाजिक सञ्जालप्रति संस्थाको नीति बुझ्नुहोस्
यदि तपाईं शिक्षक हुनुहुन्छ भने आफ्नो सामाजिक सञ्जालको एकाउण्ट खोल्नुअघि विद्यालयको सामाजिक सञ्जाल प्रयोगबारे कस्तो नीति छ, बुझ्न आवश्यक छ । यसबाट तपाईं र तपाईंलाई रोजगार दिने संस्थाबीच विश्वास बढाउन पनि मद्दत पुग्छ ।
समावेशी बन्नुहोस्
विद्यार्थीहरू जहिले पनि तपाईंसँग कुनै पनि जिज्ञासा, सुझाव र छलफलका लागि आएका हुन्छन् । तपाईंंले एकजना विद्यार्थीलाई दिने सल्लाह, सुझाव अन्यका लागि अनुपयोगी वा अनावश्यक पनि हुन सक्छ । तसर्थ, सामाजिक सञ्जाल सबैले देख्ने र थाहा पाउने माध्यम भएकाले त्यसतर्फ समेत उत्तिकै सतर्क हुन आवश्यक छ । यसका साथमा विभिन्न एप्स, प्रश्न तथा अन्तरक्रिया गराउने टूल्सको सदुपयोग समेत गर्न सकिन्छ ।
यी कार्यले शिक्षकलाई अध्यापनमा सहयोग त मिल्छ नै, सबैमाझ बोल्न हिच्किचाउने विद्यार्थीले समेत आफ्ना प्रश्न, जिज्ञासालगायत शिक्षकसामु प्रस्ट राख्ने अवसर पाउँछन् । यसले स्वाभाविक रूपमा तिनको जिज्ञासा, प्रश्नको समाधान गर्न सहयोग पुग्छ ।